• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    केपी ओलीका यस्ता २४ राष्ट्रघाती अपराधहरु, वामदेव गाैतमले गरेका थिए पर्दाफास (लिस्टसहित)

    50K
    SHARES



    एमालेभित्र गुटको राजनीतिक खुलेआम हुन्छ । नेता कार्यकर्ताहरु आन्तरिकरुपमा मात्रै हैन बाहिरै सबै कुरा छताछुल्ल हुनेगरी अभिव्यक्ति दिने गरेको पनि बेला बखत देख्न पाइन्छ । खासगरी केपी ओली, झलनाथ खनाल, माधव नेपाल लगाएतका नेताहरु गुटको राजनीतिमै छन् ।

    अहिले पनि एकले अर्कालाई सिध्याउन र बनाउन उनीहरु जुनसुकै कदम उठाउन तयार हुने कुरा एमालेकै नेता कार्यकर्ताहरुले बताउने गरेको छन् । कुरा ०५१ सालमा एमाले विभाजन हुँदा वामदेव गाैतकाे नेतृत्वमा माले पार्टी स्थापना भयाे । मालेले एमालेका नेताहरूलाई यति संगीन आराेप लगाएकाे थियाे कि, ती आराेपहरू अहिले पनि इतिहासमा ज्युँदै छन् ।

    मालेका महासचिव समेत रहेका वामदेव गाैतमकाे निर्देशनमा एमालेका नेताहरू माधव नेपाल, केपी शर्मा ओली, इश्वर पाेखरेलगायतका नेताहरूलाई संगीन आराेपहरू लगाइएकाे छ । त्याे बेला नेकपा माले सम्बद्ध क्रान्तिकारी युवा समूहका तर्फबाट योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए । पुस्तकको नाम थियो,‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’

    पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघातका आरोप अझै जिउँदै छन् । एमालेले कहिल्यै त्यसको चर्चै गर्दैन । वास्तवमा एमालेका नेताहरूलाई गाैतमकाे नेतृत्वमा लगाइएका ती संगीन आराेपहरू के थिए त ?

    ती आराेपहरूमध्ये महत्वपूर्ण २४ बुँदाहरू यस्ता छन् –

    १) २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिष्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’ मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिष्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।

    २) तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन र तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमा समेत एमालेलाई राजावादी कम्युनिष्ट पार्टीमा परिणत गरायो ।

    ३) प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानसाथ मोदनाथ प्रशितको शिक्षा मन्त्रित्वकालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।

    ४) तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियम विपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेटवर्कभित्र पार्टीलाई प्रवेश गरार्ई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।

    ५) छैटौं महाधिवेशनको भिडिओ क्यासेट कार्यकर्तालाई थाहै नदिई एमाले नेताहरूले अमेरिकी खुफिया एजेन्सी ‘सिआईए’ लाई सुटुक्क दिई साम्राज्यवादी अमेरिकाको निर्देशन पालना गरे ।

    ६) छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखिन्छ । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका माधव नेपाल, प्रदीप नेपाल, युवराज ज्ञवाली र इश्वर पोखरेलले उक्त रकम हिनामिना गरे ।

    ७) राज्यद्वारा जनताको जनस्वास्थ्यको ग्यारेन्टी गर्नुपर्नेमा जनताको सेवा गर्ने वीर अस्पतालका लागि जापानले दिएको १० करोड रुपैयाँ अनुदान रकम स्वास्थ्यमन्त्री भरत प्रधानले आफ्नो काठमाडौं मोडेल अस्पतालमा लगानी गरे ।

    ८) हालै चुनावी सरकारका नाममा नेपाली काँग्रेसको पुच्छर समाएर वैतरणी तर्न बिनासर्त सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीम रावलले चुनावी खर्च जुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए । उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर मुलुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कार्बाही गरे ।

    ९) मदन भण्डारी र जीवराज आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।

    १०) मनमोहन अधिकारी र माधवकुमार नेपालले पुँजीवादी राष्ट्रसामू अनुदान र भिक्षाको खातिर बारम्बार ‘हामी कम्युनिष्ट होइनौं’ भनेर पार्टी र कम्युनिष्टप्रेमी नेपाली जनताको बारम्बार उपहास गरे ।

    ११) निजीकरण र उदारीकरणलाई प्राथमिकता दिने एमालेले कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न सुशील प्याकुरेलजस्ता अमेरिकी सिआइएका एजेन्टलाई काँधमा बोकेर पार्टीभित्र एनजिओ र आइएनजिओलाई चलखेल गर्न दिए । विश्वकै मुक्तिकामी जनताको मुख्य दुश्मन साम्राज्यवादीहरूको नाइके अमेरिकाद्वारा सञ्चालित इन्सेकले पार्टी नेतृत्वलाई सञ्चालन गर्‍यो ।

    १२) महाकली सन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्गप्रसाद शर्मा ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ गते भारतीय राजदूतको शरणमा सांसद र केन्द्रीय सदस्यलाई माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीले भोज खुवाउन लगे ।

    १३) सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेलमार्फत साँढे सत्र केजी हजार/हजारका नोट माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीले उमेश गिरीलाई खुवाए ।

    १४) अनेरास्ववियुले तस्करहरूको नाम सार्वजनिक गरेपछि तस्करमा नामांकित व्यापारीहरूले एमालेलाई आर्थीक सहयोग बन्द गर्ने धम्की दिए । त्यसपछि,‘केटाहरूले त्यसो गरेछन्, दुःख नमान्नु होला, आइन्दा यसो गर्दैनौ’ भनी तस्करहरूसँग माफी माग्ने काम भयो ।

    १५) एमालेको नौ महिने शासन कालमा पर्यटनमन्त्री बनेका भीम रावलले जफ्फर अहमद र टासि लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूस लिने कामको सुरुआत गरेर भ्रष्टाचार गरी कम्युनिष्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो ।

    १६) एमालेको नौ महिने शासनकालमा सञ्चारमन्त्री बनेका प्रदीप नेपालले ताइवानी टेलिफोन सेट खरीद गरी सन्ताउन्न लाख रुपैयाँ कमिसन कुम्ल्याएर त्यही सेटमा जर्मनी स्टीकर टाँसी पुनः लाखौं रुपैयाँ भ्रष्टाचार गरे । (यस सम्बन्धमा दूरसञ्चारबाट वितरित टेलिफोन सेटको पछाडिपट्टी टाँसेको स्टीकर हेरे थाहा हुन्छ)।

    १७) काँग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव कुमार नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे ।

    १८) तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव कुमार नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी अमेरिकी साम्राज्यवादलाई चीनविरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चारलाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था (सिआइए) लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए ।

    १९) हुलासचन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिङ कार्यगर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको व्याज रकम दस करोडमध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गराई राष्ट्रको राजस्वमा घाटा पुर्‍याए ।

    २०) उपप्रधानमन्त्री माधवकुमार नेपाल जापानको मैत्रीपूर्ण भ्रमणमा गएको बेला चालीस करोडको कुहिएको चामल स्वदेश (नेपाल) भित्र्याई ४ करोड कमिसन खाए । सोही भ्रमणमा जापानबाट प्राप्त ८० लाख रुपैयाँ पर्ने हीराको हार राष्ट्रको ढुकुटीमा जम्मा गर्नुपर्नेमा निजी बनाई बिक्री गर्न खर्च दिई विदेश पठाउने काम गरे ।

    २१) नेकपा एमालेको नौ महिने शासन कालका प्रधानमन्त्री मनमोहन अधिकारी समक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहनगोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत काम गरी हङ्कङ्को इन्डोवेज बैंकमा जम्मा गरेको ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुन मन्त्री सुवास नेम्वाङको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादा र कानुनविपरीत मुद्दा फिर्ता गराउने काम गरी दुइ करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे ।

    २२) दुइ सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य इश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो । इन्टरपोलले इश्वर पोखरेललाई गिरफ्तार गर्न आदेश दिएपछि खड्ग प्रशाद ओली र माधवकुमार नेपालले प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलमार्फत इश्वर पोखरेललाई कारबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए ।

    २३) टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’ को अवधारणा ल्याई राष्ट्रियता जस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्षेनी आम्दानी हुने र सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्क्याउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।

    २४) मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्डमा संलग्न भएको भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्या भण्डारीको सुमधुर सम्बन्ध कायम भयो । खेतानकी ‘माता’ बनेकी विद्या भण्डारीको औकातमा एक्कासी वृद्धि भयो र विद्या भण्डारीले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ