काठमाडौं । भोलि मंगलबारदेखि सुरु हुने नेकपा एमालेको केन्द्रीय कमिटीमा पेश हुने एजेण्डा तय भएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, सचिवालयमा छलफल गरेर केन्द्रीय कमिटी बैठकमा पेश हुने एजेण्डा तय भएको हो । ‘तत्कालीन राजनीतिक कार्यक्रमदेखि संगठन शुद्धिकरणसम्मका ६ वटा एजेण्डा तय भएको छ’, गौतमले भने ।
विकसित राजनीतिक परिस्थितिबारे जानकारी दिनेगरी अध्यक्ष केपी शर्मा ओलीले गर्ने सम्बोधनलाई केन्द्रीय कमिटीको पहिलो एजेण्डामा राखिएको छ । त्यसबाहेक छलफल हुने एजेण्डा भने महासचिव शंकर पोखरेलले पेश गर्नेछन् ।
दोस्रो एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा, तेस्रोमा संगठन शुद्धीकरण र सुदृढीकरणको अवधारणा, चौथोमा जनआधारित पार्टी निर्माणमा देखिएको समस्या र समाधानबारे छलफल हुनेछ ।
पाँचौं एजेण्डामा जनदबाव र जनपरिचालन सम्बन्धी कार्यक्रममाथि छलफल गरिएको छ । ‘सरकारको कामको समीक्षा, जनताका समस्या र एमालेले निर्वाह गर्नुपर्ने भूमिकालाई हामीले जनदबाव र जनपरिचालनमा राखेर छलफल गर्दैर्छौ’, प्रचार विभाग प्रमुख गौतमले भने ।
त्यसबाहेक अरू विषयलाई विविधमा राखिएको छ । भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने छलफल १० फागुनसम्म चल्ने भएको छ । बैठकमा एमालेले गत मंसिरमा सञ्चालन गरेको मध्यपहाडी संकल्प यात्राको समेत समीक्षा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया