धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डीएसपी जोराले बताए।
जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया