बेइजिङ । चीनमा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३१ नाघेको छ ।
चीनका सरकारी सञ्चार माध्यमहरूका अनुसार उद्धारकर्मीहरूले माटो, हिउँ र पुरिएका संरचना खोतलेर जीवितहरूको खोजीकार्य तीव्र पारिरहेको भएपनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।
सोमबार झिसमिसेमै युनान प्रान्तको लियाङशुईको एउटा हिमाली गाउँमा पहिरो जाँदा १८ वटा घरका ४७ जना पुरिएका थिए । मंगलबार रातिसम्म १३ जना बेपत्ता रहेको बताइएको छ । लियाङशुइ यतिबेला तापमान शून्य डिग्रीभन्दा तल छ । हजारभन्दा धेरै उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।
सो क्षेत्रबाट ९ सय भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । गाउँभन्दा करिब १५ मिटर माथिबाट पहिरो खसेको छ । ठाडो भिरबाट करिब सय मिटर फराकिलो, ६० मिटर उचाइ र ६ मिटर बाक्लो पहिरो गाउँको छेउमा खसेको थियो ।
प्रतिक्रिया