काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताएका छन् ।
पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज सचिवालय बैठक बस्ने भएको छ । यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ ।
राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकेको छ ।
प्रतिक्रिया