• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रहरीद्वारा नेकपा कार्यकर्तामाथि गोली प्रहार, एक जना घाइते, यस्तो छ अवस्था

    13K
    SHARES



    काठमाडौं । प्रहरीले भोजपुरमा नेकपा कार्यकर्तालाई गोली हानेर घाइते बनाएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीमा बसेका नेकपा कार्यकर्ता तीर्थराज घिमिरमाथि प्रहरीले गोली हानेको हो ।

    प्रहरीले चलाएको गोलीबाट घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले स्वीकार गरे।

    घरमै बसिरहेका घिमिरेमाथि एक्कासी आएको प्रहरीले गोली चलाएको आफन्तले संचारकेन्द्रलाई जानकारी दिए । नेकपा भोजपुरले भने घर नै घेराबन्दीमा पारेर प्रहरीले आंतकित पार्दै आफ्ना जिल्लास्तरीय नेतालाई गोली हानी घाइते बनाएको दावी गरेको छ ।

    ‘उहाँको घरै षडानन्द नगरपालिकामै हो । आज उहाँ घरमै हुनुहुन्थ्यो । तर उहाँलाई खोज्दै गएको प्रहरीले निर्मतापुर्वक गोली चलाएर उहाँलाई घाइते पारेकाे छ ।’ नेकपा भोजपुरले संचारकेन्द्रसँग भन्यो – ‘हामी सरकारको यस्तो दमनकारी रबैयाको घोर बिरोध र भ्रत्सर्ना गर्दछौं । र तीर्थराज कमरेडको यथासिघ्र उपचार होस् र उहाँलाई तत्काल रिहा गरियोस ।’

    यता प्रहरीले भने धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा नेकपाका कार्यकर्ता बसेर गतिबिधि बढाइरहेको सूचनाको आधारमा गस्ती गरेको दावी गरेको छ। त्यस्तै घटनास्थलबाट १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको पनि प्रहरी दावी छ।

    उता सुर्खेतबाट नेकपाका भेरी ब्युरो इन्चार्ज बल बहादुर वली ‘शितल’सहितका २ जना नेता गिरफ्तार परेका छन । सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरापानीबाट ब्युरो ईन्चार्ज वली, सुर्खेत जिल्ला सेक्रेटरी खडक बहादुर खडका ‘यमराज’ र जाजरकाेटकाेटबाट ब्युराे सदस्य हरिचन्द्र जैसी ‘अनुकुल’ गिरफ्तार परेको बताइएकाे छ।

    प्रतिबन्धपश्चात नेकपामाथि ओली सरकार आक्रामक देखिएको छ । नेकपा नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समात्ने रणनीतिअनुसार सरकारले ४ सय बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

    यता नेकपा गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । चैत्र १५ गते गुल्मीबाट खड्कालाई गिरफ्तार गरी लगातार रुपमा गैरकानूनी रुपमा हिरासतमा राखेको ठहर गर्दै आइतबार सर्वोच्च अदालतले रिहा गर्न नेपाल सरकारका गृह मन्त्रालयको नाममा आदेश दिएको थियो ।

    अदालतको आदेश लगत्तै खड्कालाई सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तार गरी अर्घाखाँची लगिएको छ । गुल्मी प्रहरीको हिरासतमा गैरकानूनी थुनामा राख्ने गुल्मी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाईसमेत आदेशको जानकारी दिनु आदेश भएको थियो । तर खड्कालाई अर्घाखाँची पुर्याइएको छ ।

    रिहाईको आदेश सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दिएको हो । खड्कालाई बिनाकारण गिरफ्तार गरी गैरकानूनी ढंगबाट हिरासतमा राखिएको भन्दै रिहाइको मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरिएको थियो ।

    त्यस्तै उक्त पार्टीका पोलिटब्युरो सदस्य एवं जनवर्गीय संगठनका इन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।

    सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई बाटोको म्याद बाहेक तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । काठमार्डौ जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै गत वैशाख ३० गते पुनः पक्राउ गरी सुनसरीको धरान पुर्याइएका जीवन्तलाई गैरन्यायीक रुपमा गिरफ्तार गरी बन्दी बनाईएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।

    उक्त रिटमाथि सोमबार न्यायधिस मिरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जीवन्तलाई गिरफ्तार गर्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

    काठमाडौं जिल्ला अदालतले गत बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाई आदेश दिए लगत्तै रिहा भएका नेता कार्कीलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइएको थियो । उनलाई हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएको छ।

    उनलाई सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको चौथो दिन अर्थात चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राखी राजद्रोह र संगठित अपराधको मुद्दा लगाईएको थियो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो ।

    त्यसलगत्तै अदालत परिसरबाटै पुन पुनः गिरफ्तार गरी प्रहरीले संखुवासभा लगि ‘मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलायो । त्यसपछि पनि अदालतकै आदेशमा रिहा भएका नेता जीवन्तलाई प्रहरी गिरफ्तार गरी संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाई मुद्दा चलायो ।

    काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाई आदेश दिएको थियो । तर, उनलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइएको हो । हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएका नेता कार्कीमाथि साविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको छ ।

    तस्वीर : गुगलबाट

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ