काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ।
बिहीबार दिउँसो ३ बजेसम्म संकलन गरिएको विवरणअनुसार चितवनमा सबैभन्दा धेरै १२१ जनाको शव फेला परेको छ। यस्तै, पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ जनाको शव भेटिएको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। नदी किनार तथा प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त टोलीले सम्भावित स्थानहरूमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। बाढीपछि नदीको बहाव तथा प्रभावित क्षेत्रमा रहेको जोखिमका बीच पनि बेपत्ता भएकाहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।
प्रभावित क्षेत्रमा थप शव भेटिन सक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया