• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिपुरेश्वर बस आगलागी प्रकरण: चालक र ट्राफिक प्रहरीबीच भएको थियो विवाद

    287
    SHARES



    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा रहेका ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चालकले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।

    काभ्रे घर भएका लामालाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

    घटनाअघि खिचिएको भनिएको भिडियोमा ट्राफिक प्रहरीले चालकलाई नियम उल्लंघन गरेको भन्दै जरिवाना गर्न खोजेको देखिन्छ। चालकले भने आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेका छन्।

    भिडियोमा चालकले आफूलाई बिना कसुर कारबाही गर्न खोजिएको गुनासो गरेका छन्। उनले ट्राफिक प्रहरीलाई आफूले सम्मान गरेको र माफीसमेत मागेको बताएका छन्।

    बस सडकको बीच भागमा रोकिएका कारण सवारी आवागमन प्रभावित भएको भन्दै त्यहाँ उपस्थित केही व्यक्तिले बसलाई सडकको छेउमा लैजान आग्रह गरेको पनि भिडियोमा सुनिन्छ। यही क्रममा चालक र ट्राफिक प्रहरीबीचको विवाद थप चर्किएको देखिन्छ।

    विवादका क्रममा चालकले आफू काम गरेर खाने व्यक्ति भएको बताउँदै ‘मर्न तयार छु’ भन्दै जरिवाना नतिर्ने अडान दोहोर्‍याएका छन्।

    त्यसको केही समयपछि बसको पछिल्लो भागबाट आगो लागेको देखिएको छ। आगलागीपछि चालक लामालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको हो।

    घटनाको वास्तविक कारण पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको छ। एसएसपी रमेश बस्नेतको नेतृत्वमा गठन गरिएको समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले बताएका छन्।

    प्रहरीले प्रारम्भिक रूपमा चालक स्वयंले बसमा आगो लगाएको हुनसक्ने आशंका गरेको छ। तर यसको स्वतन्त्र पुष्टि भइसकेको छैन। बसमा आगलागी हुनुको कारण, चालक र ट्राफिक प्रहरीबीच भएको विवाद तथा घटनाको समग्र परिस्थितिबारे समितिले छानबिन गरिरहेको छ।

    छानबिन समितिको प्रतिवेदनपछि मात्रै आगलागीको वास्तविक कारण र घटनाको जिम्मेवारीबारे स्पष्ट निष्कर्ष आउने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ