• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    असोज ९ देखि ११ सम्म भारी वर्षाको जोखिम, रातिको यात्रा नगर्न आग्रह

    216
    SHARES



    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ।

    विभागले सोमबार साँझ जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमार्फत सम्भावित मौसमी अवस्थाका कारण जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

    बंगालको खाडीमा विकसित प्रणालीको प्रभाव

    मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर आसपासबाट विकसित न्यूनचापीय प्रणाली अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप विकसित हुँदै बलियो न्यूनचापीय क्षेत्र अर्थात् ‘डिप डिप्रेसन’मा परिणत भएको महाशाखाले जनाएको छ।

    यो प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्ने अनुमान छ। यसको प्रभावका कारण बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्ने पूर्वानुमान गरिएको छ।

    असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने सम्भावना छ।

    त्यस्तै, मधेस, कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा कर्णालीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

    रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

    मौसम विभागको विशेष बुलेटिन सार्वजनिक भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रानसहितको बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरेको हो।

    प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

    जोखिमयुक्त राजमार्ग तथा सडकमा उद्धारका लागि आवश्यक डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ।

    संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई पनि सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ।

    जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

    विशेषगरी आकस्मिक बाढी आउनसक्ने खोला तथा खहरे आसपासका बस्ती र पहिरोको जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।

    विपद्सम्बन्धी सूचना तथा सहयोगका लागि प्राधिकरणले ११४९, विपद्मा सहायता माग्न १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    कृषि र यातायातमा समेत असर पर्नसक्ने

    लगातारको भारी वर्षाका कारण ठूला तथा साना नदीमा पानीको बहाव बढ्नसक्ने विभागले जनाएको छ। यसबाट दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेको छ।

    धानबाली भित्र्याउने समयसमेत रहेकाले किसानलाई मौसमको अवस्था हेरेर तथा कृषि विज्ञको सुझावअनुसार आवश्यक काम गर्न आग्रह गरिएको छ।

    मौसमी प्रणालीको प्रभाव हिमाली क्षेत्रमा समेत पर्नसक्ने भएकाले केही स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले हिमाली क्षेत्रमा जाने पर्वतारोही तथा अन्य व्यक्तिलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ