• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा ६ विषयमा छलफल

    114
    SHARES



    काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलको बैठकमा ६ विषयमा छलफल भएको छ ।

    सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बुधबार बसेको बैठकमा सभामुखको निर्वाचनसहितका ६ विषयमा कुराकानी भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    ‘प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि संसद् सचिवालयले बोलाएको पहिलो औपचारिक बैठकमा मुख्यगरी भोलिदेखि सुरु हुन लागेको अधिवेशन कसरी सञ्चालन गर्ने भन्ने विषयमा दलका प्रतिनिधि र सचिवालयबिच कुराकानी भयो,’ बैठकपछि बुर्लाकोटीले सञ्चारकर्मीहरूसँग भने, ‘सभामुखको निर्वाचनदेखि प्रतिनिधिसभा नियमावली बनाउने विषयसम्म कुराकानी भए ।’

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन भोलि दिउँसो २ बजे आह्वान गरेका छन् । त्यो बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा संसद् सचिवालयले दलहरूको बैठक बोलाएको थियो ।

    महामन्त्री बुर्लाकोटीले बैठकमा सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति बनेको जानकारी दिए । भोलिको बैठकदेखि प्रक्रिया सुरु गर्ने चैत १९ गते सभामुखका उम्मेदवारको मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको बुर्लाकोटीले बताए ।

    उनका अनुसार बैठकमा प्रतिनिधि सभाको नयाँ नियमावली बनाउने सहमति पनि बनेको छ । नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक सञ्चालन गर्ने सहमति दलहरूबिच बनेको हो ।

    त्यस्तै बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने, सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, जेनजी आन्दोलनका सहिदहरू र अन्य सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, अधिवेशन सुरु हुने दिन शीर्ष नेताहरूले शुभकामना व्यक्त गर्ने विषयमा कुराकानी भएको थियो ।

    बैठकमा कार्यव्यवस्था परामर्श समितिमा सबै दलको उपस्थितिबारे कुराकानी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले जानकारी दिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ