काठमाडौँ । नबिल बैंक स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै नेपालको पहिलो नम्बरको बैंकका रूपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभई समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।
४१औँ वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि आभार व्यक्त गरे ।
स्थापनादेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिलले आजको डिजिटल युगसम्म आइपुग्दा प्रविधि प्रयोगमा अग्रणी स्थान बनाउन सफल भएको छ । मुलुकको आधुनिक बैंकिङका लागि पर्याय बनेको नबिलले सरकारको मौद्रिक तथा राजस्व नीतिअनुरुप वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले विगत चार दशकमा आफ्नो पहुँच र प्रभाव दुवैलाई विस्तार गर्दै अगाडि बढेको छ ।
बैंकले २०८२ असार २६ सम्म कूल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले सुरुआती दिनदेखि आजसम्म वित्तीय क्षमता मात्र नभई ग्राहकको विश्वास र संस्थाको मजबुत आधारशिला स्थापना गरेको छ ।
यस अवधिमा विकासको दृष्टिकोणले महत्वपूर्ण मानिने क्षेत्रहरूमा बैंकको कर्जा प्रवाह उल्लेखनीय देखिन्छ । जस्तै, जेष्ठ मसान्त सम्ममा कृषि क्षेत्रमा ४९ अर्ब ५० करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४० अर्ब रुपैयाँ ३ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादनमा सहयोगी हुँदै, सूक्ष्म, लघु, साना तथा मझौला उद्यममा ३८ अर्ब ५० करोड रुपैयाँ र ब्याज अनुदानित योजनामार्फत ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको छ ।
सूचकांकमा अब्बल
नबिल बैंकको चार दशक लामो वित्तीय यात्रा हेर्दा, बैंकले हरेक प्रमुख सूचकहरूमा अत्यन्तै सकारात्मक प्रगति गरेको छ । पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, सम्पत्तिदेखि शाखा विस्तारसम्म र मानव संशाधनमा बैंकले आफूलाई अब्बल बनाएको छ । चार दशकभन्दा बढी लामो यात्रामा नबिल बैंक एउटा वित्तीय संस्था मात्रै नभई नेपालका लाखौँ नागरिकको सपना र समृद्धिको सहयात्री बनेको छ ।
आर्थिक वर्ष २०४१-४२ मा बैंकको नेटवर्थ दुई करोड ८० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा ६१ अर्ब २४ करोड ७० लाख पुगेको छ भने निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर आर्थिक वर्ष २०८१-८२ मा आइपुग्दा ५ खर्ब १० अर्ब ६६ करोड ९० लाख पुगेको छ । बैंकका अनुसार कर्जा प्रवाह आर्थिक वर्ष २०४१-४२ मा १३ करोड ३० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर ४ खर्ब १५ अर्ब ८२ करोड ९० लाख पुगेको छ । बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्म ६ खर्ब ११ अर्ब ८६ करोड २० लाख पुगेको छ ।
प्रारम्भिक वर्षमा बैंकको कर पछिको नाफा १० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी सुरुआती समयमा दुईवटा शाखा र १४४ जना कर्मचारीबाट सुरु भएको बैंकको यात्रा अहिले २६८ शाखा र २,४३१ कर्मचारी पुगेको छ ।
बैंकको देशभर फैलिएको सञ्जालले ग्राहक सेवा विस्तारमा टेवा पुर्याएको छ । हाल नबिल बैंकले मुलुकभर २६८ शाखा, ३२१ एटिएम र २१ एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाख ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । बैंकले डिजिटल बैंकिङतर्फ मोबाइल बैंकिङ, एनबैंक, क्यूआर भुक्तानी, अनलाइन कर्जा र अनलाइन खाताखोल्ने जस्ता सेवा सुरु गरिसकेको छ ।
वार्षिकोत्सवका अवसरमा नबिलले विशेष योजना सार्वजनिक गरेको छ ।
४१ दिने विशेष अफर
नबिल बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रतिको आभार स्वरूप ४१ दिने विशेष अफर ल्याएकोे छ । असार २८ गतेदेखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षको लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ । यो अफर कुनै पनि बचत योजना अन्तर्गत नयाँ खाता खोल्ने सबै ग्राहकका लागि लागू हुनेछ ।
नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा नबिल बैंकले सधैँ उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ। यस अफरमार्फत बैंकले अझ बढी नागरिकलाई आधुनिक बैंकिङ सेवामा पहुँच दिलाउने उद्देश्य राखेको छ । यो सीमित अवधिको अवसरको लाभ लिन नजिकको नबिल बैंकको शाखामा सम्पर्क गर्न सकिनेछ ।
नबिल ‘स्मार्ट नारी घर कर्जा’ योजना
नबिल बैंकले वार्षिकोत्सवको अवसरमा महिलालाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उक्त योजना ल्याइएको हो ।
यस योजनाअनुसार महिला आर्थिक वर्षेदकले घर खरिद, घर निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आर्थिक वर्षास कर्जा सार्नका लागि सजिलो, सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । उक्त योजनाअन्तर्गत न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ भने पहिलोपटक घर खरिद गर्ने महिलाका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा दिइनेछ ।
बैंकका अनुसार अधिकतम ३५ वर्षे अवधि र कर्जाको आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा पाइनेछ । यस योजना अनुरुप ग्राहकले आफुलाई सहज हुने गरी कर्जाको किस्ता रकम छान्न सक्नेछन् भने कुनै पूर्वभुक्तानी शुल्क नलाग्ने बैंकको भनाइ छ । यस योजनाअन्तर्गत ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिई दुई लाख रुपैयाँसम्मको सुविधा लिन पाइने जनाएको छ । नबिल बैंकले यस योजनालाई देशभरिका आफ्ना सम्पूर्ण शाखामार्फत कार्यान्वयन गर्ने जनाएको छ ।
प्रतिक्रिया