काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद श्रेष्ठले भनिन् ।
उनले भनेकी छन्, ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’
तथापि बिचौलियाहरू किन डराइरहेका छैनन् भन्ने उनको प्रश्न छ । ‘सबैभन्दा दुखको कुरा चाहीँ– सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच । कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र स्मग्लरहरूमा पलाएको हो ?,’ सुमनाको प्रश्न छ, ‘सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’
२०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गरिन् ।
उक्त प्रतिवेदनले गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भनेर सरकारको ध्यानाकर्षण गरिन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्य दलमा केहि फरक नरहेको उनले बताइन् ।
प्रतिक्रिया