काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चेतावनीपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा काजमा कार्यरत दुई उपसचिवको काज फिर्ता गरेको छ।
गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव सुरेशराज जोशीका अनुसार उपसचिव अच्युत श्रेष्ठ र निराजन श्रेष्ठलाई उनीहरूको दरबन्दीअनुसारको कार्यालयमा फिर्ता गरिएको हो। अच्युत श्रेष्ठको दरबन्दी गृह मन्त्रालयमा र निराजन श्रेष्ठको दरबन्दी अध्यागमन विभागमा रहेको छ।
यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडीलाई पत्र पठाउँदै त्रिभुवन विमानस्थलमा दरबन्दीभन्दा बढी काजमा रहेका कर्मचारीलाई फिर्ता गर्न एक साताको समय दिएका थिए। सोही निर्देशनअनुसार गृह मन्त्रालयले जेठ २९ गते प्रधानमन्त्री कार्यालयलाई जानकारी पठाएको प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यले बताएका छन्।
अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी भए पनि हालसम्म ‘पावर’को प्रयोग गरी ८ उपसचिव राखिएको थियो। अच्युत र निराजन फिर्ता भएसँगै अब ६ उपसचिव मात्र कार्यरत छन्।
पहिले कार्यरत उपसचिवहरूमा अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल थिए। यस्तै, अध्यागमन कार्यालयमा शाखा अधिकृतको दरबन्दी १२१ जना रहे पनि हाल ११८ जना कार्यरत छन्।
प्रतिक्रिया