काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उनीहरुले घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेकोले थाकथलो छाडेर पोखरा हानिएको प्रहरीलाई बताएका छन् ।
उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।
यसैबीच हायू परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
हायु परिवारले यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए । उनीहरुको परिवारका १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका हुन् । उनीहरु हायु परिवारका सदस्य र नातेदार भएको प्रहरीको भनाइ छ ।
एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी गरेको थियो । सिन्धुलीबाट पोखरा पुगेर होटेलमा बसेका उनीहरु अन्तत: पोखराकै गगनगौंडामा भेटिएका थिए ।
स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए ।
प्रतिक्रिया