काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।
उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका विषयको आकलन गरिने जिकिर गरे ।
बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरी र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने जस्तो नदेखिएको महासङ्घको बुझाइरहेको सुवेदीले बताए ।
सरकारले असार १५ मै विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्याउने प्रतिबद्धता जनाएको थियो । तर, सहमतिअनुसार विधेयक टुङ्गोमा नपुगेपछि महासङ्घ आक्रोशित बनेको हो। विधेयक अहिले पनि शिक्षा समितिमै रहेको छ।
प्रतिक्रिया