• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    महाराजगञ्जमा बर्थडे केक काट्दै गरेका चक्रे मिलन पक्राउ

    7.4K
    SHARES



    काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।

    बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।

    काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गरे पनि विस्तृतमा बताएनन् । ‘राति प्रहरीले त्यससम्बन्धी अपरेशन चलाएको थियो, तर संख्याबारे अहिल्यै भन्न सकिएन’, उनले भने ।

    प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।

    दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका उनी ठमेलमा केही र्‍यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित र्‍यापरहरु समेत पुगेका थिए । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरी बताउँछ ।

    अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।

    तर, पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलनको गतिविधिमा चासो दिने वा नदिने भन्नेमा अधिकारीहरु अलमलमा थिए ।

    त्यस्तोमा मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलन पक्राउ परे । उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका करिब ५० जना ‘आपराधिक पृष्ठभूमि’का व्यक्तिहरु पनि पक्राउ परे ।

    तर, उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन । प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन् । खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ