काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।
‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं ।’
माओवादी प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने आफूहरुको मुख्य माग रहेको बताए । त्यसका लागि सरकारले कस्तो वातावरण बनाउँछ, त्यस अनुसार अघि बढ्ने उनले बताए । उनले उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए ।
‘व्यक्ति विशेषमा हाम्रो ध्यान होइन तर मुख्य कुरा छानबिनकै हो । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भनेर हिजोको सदन स्थगित भएको हो’, उनले भने, ‘सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने हुन्छ आज कुराकानी हुन्छ । सदनमा छलफलको वातावरण हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ।’
यसबारे सरकारसँग र अन्य विपक्षी दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया