काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित नभएको बताएका छन् ।
बुधवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले गृहमन्त्रीले उठेका प्रश्नको जबाफ मात्रै दिए पुग्ने बताए । उनले प्रतिपक्षहरुले छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताए।
‘दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ। एउटा गृहमन्त्रीको राजीनामाको माग छ। अर्को छानबिन समिति गठन होस् भन्ने छ। हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जबाफ दिएपछि पुग्छ,’ उनले भने।
अहिले संसद अवरुद्ध रहेको र आजभोलिमै संसद सुचारु हुने विश्वास उनको छ । उनले गृहमन्त्रीविरूद्ध ठोस प्रमाण पनि नभएको पनि बताए।
‘गृहमन्त्रीको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित होइन। गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ। त्यसपछि संसद खोल्नुपर्छ। तीन नेताहरुबीच पनि छलफल भएको छ। सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ।’
प्रतिक्रिया