काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफू गृहमन्त्रालयमा आएदेखि गलत भएको पुष्टि भए राजनीतिमा देखा नै नपर्ने बताएका छन्।
शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँगको छलफल क्रममा गृहमन्त्री लेखकले आफूविरूद्ध उठेका विषयहरूमा आँत्तिनुपर्ने कारण नरहेको बताएका हुन्।
‘यसमा साथीहरू आँत्तिनुपर्ने कुनै कारण छैन। जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ। उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ,’ उनले भने। गृहमन्त्री लेखकले ती विषयहरू कहाँबाट कसरी भए भन्ने विषयमा आफूले बुझिरहेका कारण चुप लागेर बसेको पनि बताए।
‘ट्वीटरमा के-के लेख्ने काम भइरहेका छन्। म दुई तीन दिन चुप लागेर किन बसेको भने यो कहाँबाट कसरी किन भइरहेको छ भन्ने बुझिराख्या थिएँ। धेरै कुरा थाहा भइसक्या छ। आज काठमाडौं गइसकेपछि विज्ञप्ती निकाल्छु र दुई चार दिनमा म आफै पनि केही कुरा बोल्छु,’ उनले भने।
मन्त्री लेखकले आफूलले जीवनभरि राजनीति गर्दा पार्टीका नेता कार्यकर्ताको निहुरिने काम नगरेको बताए। ‘उठेका कुराहरू ठीक ढंगले छानबिन हुन्छ,’ उनले भने।
अध्यागमन कार्यालयका कर्मचारीले मोटो रकम लिएर मानिसलाई विदेश पठाएको विषयमा अख्तियारले छानबिन गरेपछि गृह मन्त्रालयले त्यहाँको कर्मचारी सरूवा गरेको थियो। गृह मन्त्रालयले बिहीबार अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ जनालाई सरूवा गरेको थियो।
प्रतिक्रिया