काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदैछ ।
लामिछानेकी पत्नी निकिता पौडेलले गत वैशाख ७ गते सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।
यसअघि मङ्गलबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट पौडेलले रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै रिट निवेदन दिएकी थिइन् ।
उक्त प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रूपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया