• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डको आरोप : संविधान मिचेर मेरो सरकार ढालियो

    628
    SHARES



    फिदिम, पाँचथर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वमा रहेको सरकार संविधानको मर्म मिचेर हटाइएको आरोप लगाएका छन्।

    पाँचथरको फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो पछिल्लो कार्यकालमा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियानले दलाल र बिचौलियाहरूको असहजता बढेपछि योजनाबद्धरूपमा सरकार अपदस्थ गरिएको दाबी गरे।

    “बैंकको ब्याजदर घटाउने, बैंकिङ प्रणालीमा सुधार ल्याउने, बिचौलिया र दलालहरूको विरुद्ध जनताको पक्षमा काम गर्दा ती शक्तिहरूलाई मन परेन,” प्रचण्डले भने, “त्यसैले संविधान मिचेर, अपारदर्शी ढंगमा रातारात मेरो सरकार हटाइयो।”

    उनले विगतमा कांग्रेस र एमालेसँग बारम्बार गठबन्धन गर्दा माओवादी पनि त्यही ढाँचामा गाभिएको देखिएको स्वीकार गरे। तर अबको यात्रा छुट्टै बाटोबाट अगाडि बढ्ने उनले स्पष्ट गरे।

    “अब हामी आफ्नै खुट्टामा उभिएर, जनताको समर्थनमा अघि बढ्छौं,” उनले भने, “न त कांग्रेससँग, न त एमालेसँग, अब स्वतन्त्र अभियान हुनेछ।”

    अध्यक्ष दाहालले आफ्नो सरकारको पालामा सुरु भएका प्रमुख पूर्वाधार योजनाहरू- जसमा मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, तथा उत्तर-दक्षिण करिडोर-माओवादी नेतृत्वकै दूरदृष्टिको परिणाम भएको बताए।

    “मध्यपहाडी लोकमार्गको प्रस्तावक म स्वयं हुँ,” उनले भने, “यसको पूर्वी सुरुआत पाँचथरबाट नै भएको हो। यो केवल बाटो होइन, समृद्धिको पूर्वाधार हो।”

    प्रचण्डले भर्खरै सम्पन्न ‘जनतासँग माओवादी-तराई मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई आम जनताको साझा अभियान बनेको उल्लेख गरे। उनले केही दिनमै बैतडीबाट अभियानको औपचारिक चरण सुरु हुने जानकारी दिए।

    स्थानीय तह, स्ववियू, र पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उत्साहजनक परिणाम ल्याएको उल्लेख गर्दै, अध्यक्ष दाहालले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा थालिएका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ