काठमाडौँ । पाकिस्तानले शनिबार बिहान भारतविरुद्ध औपचारिक रूपमा प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तान सेनाको जनसम्पर्क विभाग (ISPR) ले ‘अपरेसन बानयन मर्सस’ नामक कारबाही सुरु गरिएको जानकारी दिएको छ।
पाकिस्तानी पक्षले भारतले तीनवटा पाकिस्तानी एयरबेसमा मिसाइल आक्रमण गरेको दाबी गर्दै त्यसको प्रतिशोधमा कारबाही थालेको हो। यद्यपि भारतले यसबारे आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
घटनापछि पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले देशको वायुसीमा शनिबार बिहान ३:१५ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। यसले अन्तर्राष्ट्रिय उडानहरूमा असर पर्न थालेको जनाइएको छ।
यसैबीच, भारत प्रशासित कश्मीरको उधमपुर जिल्लाको डिब्बर क्षेत्रमा विस्फोट भएको खबर आएको छ। उक्त क्षेत्रमा खतराको संकेतस्वरूप लगातार साइरन बजिरहेको बताइएको छ।
शुक्रबार साँझदेखि नै जम्मू-कश्मीरका कुपवाडा, करनाह, तंगधार, उरी र पुंछ क्षेत्रमा पनि गोलाबारी भइरहेकाले स्थितिलाई थप संवेदनशील बनाएको छ।
दुबै देशबीच पछिल्ला केही दिनयता बढ्दो तनावले क्षेत्रीय सुरक्षालाई चुनौतीमा पार्नसक्ने चिन्ता उत्पन्न भएको छ। विज्ञहरूले द्वन्द्व चर्कँदा यसको असर केवल भारत–पाकिस्तानसम्म सीमित नहुने र समग्र दक्षिण एसियाको शान्तिमा असर पार्न सक्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीले बोलाए कमाण्ड प्राधिकरणको बैठक
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमाण्ड प्राधिकरणको बैठक बोलाएका छन् । भारतविरुद्ध ‘अपरेसन बानयन मर्सस’ सुरु गरे लगत्तै उनले प्राधिकरणको बैठक बोलाएका हुन् ।
राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ।
यो प्राधिकरण २००० मा स्थापित भएको थियो। यसको उद्देश्य आणविक हतियारहरू कडा र व्यवस्थित रूपमा प्रयोग गरिएको सुनिश्चित गर्नु थियो।
प्रतिक्रिया