काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडि फर्काउने प्रतिगामी शक्तिहरूलाई सशक्त जवाफ दिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै उनले संघीय गणतन्त्रका उपलब्धिहरूमाथि हमला गर्न खोज्ने तत्वहरू विरुद्ध आन्दोलनको तयारी रहेको स्पष्ट पारे।
अध्यक्ष प्रचण्डले पछिल्लो समय यथास्थितिवादी र प्रतिगमनकारीहरू संविधान र गणतन्त्रमाथि खतरा सिर्जना गर्ने प्रयासमा लागेको बताए। “हामी सदनबाट, सडकबाट र जनतामाझ गएर खबरदारी गरिरहेका छौँ। तर जरुरी परे ठूलो आन्दोलनमा जान पनि पछि पर्दैनौँ,” उनले चेतावनी दिए।
उनका अनुसार, माओवादी पार्टीको गतिशीलता पुनः बढिरहेको र जनविश्वास बलियो हुँदै गएकाले आगामी निर्वाचनमा पार्टी एक नम्बर बन्ने आधार तयार भएको छ। “८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पार्नेछ,” उनले उद्घोष गरे।
प्रचण्डले काठमाडौँमा देखिएको राजावादी चहलपहललाई ‘वितण्डा’को संज्ञा दिँदै त्यसविरुद्ध माओवादीले सशक्त प्रतिवाद गरिसकेको दाबी गरे। “काठमाडौँमा जसरी राजावादीहरूको वितण्डा देखा पर्न खोज्यो, त्यसलाई जवाफ दिन अभियान रोकेर हामी मैदानमा उत्रियौँ र जनताको तागतबाट प्रतिगामी षड्यन्त्रलाई परास्त गर्यौँ,” उनले भने।
शान्ति प्रक्रियामा आएपछि जनवर्गीय संगठनहरूसँगको सम्बन्ध कमजोर हुँदा माओवादी आन्दोलन नै कमजोर बन्न पुगेको स्वीकार्दै प्रचण्डले पार्टीले आत्मसमिक्षा गरेको जनाए। “हामीले समयमै सम्बन्ध सुदृढ गर्न सकेनौँ, यही कमजोरीले एजेन्डा कमजोर भयो,” उनको भनाइ थियो।
पछिल्लो कार्यकालमा सरकारको नेतृत्व गर्दा संघीयता जोगाउन सुशासनको रेकर्ड बनाउने गरी काम गरिएको प्रचण्डको दाबी छ। “हामीले भ्रष्टाचारविरुद्ध अभियान सचेत रूपमा थालेका थियौँ। सामाजिक न्यायका लागि नयाँ आन्दोलन छेड्नुपर्छ भन्ने धारणा बनाएका छौँ,” उनले स्पष्ट पारे।
प्रचण्डले पार्टीभित्रको अभियान, सम्मेलन र जनसंगठनमार्फत शक्ति सञ्चय गर्दै गएको भन्दै, जनतामा माओवादीप्रति आशा र भरोसा पुनः जागेको बताए।
प्रतिक्रिया