काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच प्रस्तावित पार्टी एकता हाललाई केही दिनका लागि रोकिएको छ। बुधबार एकता घोषणा गर्ने तयारी भइरहेका बेला नाउपाका नेता रेशम चौधरीको गिरफ्तारी भएपछि उत्पन्न परिस्थितिले एकता प्रक्रिया प्रभावित भएको हो।
एकता रोकिएपछि २ पार्टीका नेताहरु छलफलमा जुटेका छन् । बुधबार साँझ बसेको जनमत र नाउपाको बैठकले तत्काल पार्टी एकता नगर्ने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता सरदसिंह यादवले जानकारी दिए। उनका अनुसार, चौधरीको गिरफ्तारीलाई “सामान्य कर्मचारीको त्रुटि” भनेर स्वीकार्न नसकिने जनमत पार्टीको धारणा छ, र यस घटनाको गम्भीर समीक्षा भइरहेको छ।
यादवले भने, “केही दिनका लागि हामीले पार्टी एकता रोकेका छौँ। हिजोको घटना सामान्य कर्मचारीले गरेको त्रुटि भनेर हामीले कदापि विश्वास गर्न सकेका छैनौँ। यसलाई निर्मम ढङ्गले समीक्षा गरिरहेका छौँ। पार्टी एकता दुईचार दिनपछि हुन्छ, हामी पार्टी एकता जसरी पनि गरेर छाड्छौँ। तर यो सम्पूर्ण परिघटनालाई निर्मम समीक्षा गर्न हामी दुई पार्टी बसेर छलफल भइरहेको छ।”
उनले जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय भने हालसम्म नगरेको बताए। “अहिले सरकार छोड्ने बारे हामीले निर्णय गरेको छैनौँ। उहाँहरूले आफ्नो ढङ्गले गर्नुहोला,” यादवले भने, “हामी एउटै सिरामा अगाडि बढिसकेका छौँ, यी सबै निर्णयहरू एकैसाथ सार्वजनिक गर्ने तयारीमा पनि छौँ।”
यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मार्ने धम्की आएको र दुई पार्टीको एकता रोक्ने खालका अभिव्यक्तिहरू आएकाले राउतले विभिन्न अन्तर्वार्ता र कार्यक्रममा यसबारे बोल्दै आएको समेत यादवले स्मरण गराए।
पार्टी एकता प्रक्रिया केही दिनका लागि स्थगित भए पनि दुवै पार्टीले एकता गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। हालको घटनाक्रमको गम्भीर समीक्षा र छलफलपछि मात्र एकता प्रक्रिया पुनः अघि बढ्ने जनाइएको छ
प्रतिक्रिया