काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसदमा प्रस्तुत गर्न लागेका सरकारका नीति तथा कार्यक्रमबारे सत्ता गठबन्धन दलहरूले छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा सहभागी नेताहरूले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरूबारे महत्वपूर्ण सुझावहरू दिएका छन्।
बैठकपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्र सुदृढीकरण, विकास निर्माणमा प्राथमिकता, आर्थिक सुधार र युवा उद्यमशीलता प्रवर्द्धन लगायतका विषयमा सुझावहरू आएको जानकारी दिए।
“लोकतन्त्रलाई थप सुदृढ गर्ने गरी विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिनुपर्नेमा जोड दिइएको छ,” ज्ञवालीले भने, “विकास निर्माण समयमै सकिने, बजेटको प्रभावकारी कार्यान्वयन हुने, स्रोतको अपव्यय रोक्ने र उच्च प्राथमिकता दिने खालका सुझावहरू आएका छन्।”
उनका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता अभिवृद्धि गर्नुपर्ने र अनावश्यक खर्च कटौती गर्नुपर्ने सुझावहरू पनि आएका छन्। विशेषगरी युवा पुस्तालाई आशा र विश्वास जगाउन स्टार्टअप, सीप विकास, उद्यमशीलता, व्यवसाय योजना र बजार व्यवस्थापनमा आधारित कार्यक्रम ल्याउनुपर्नेमा बैठकमा जोड दिइएको हो।
“बाह्य सम्बन्धलाई थप सुदृढ गर्ने, बसाइँसराइ न्यूनीकरण गर्न पहाड केन्द्रित रोजगारी र कृषि व्यवसाय प्रवर्द्धन गर्नुपर्ने सुझावहरू पनि आएका छन्,” ज्ञवालीले थपे, “यसपटक विगतभन्दा फरक खालको मेजर ब्रेकथ्रु हुने नीति तथा कार्यक्रम ल्याइनुपर्छ भन्ने अपेक्षा गरिएको छ।”
त्यसैगरी बैठकले हाल जारी शिक्षक आन्दोलनबारे समेत समीक्षा गरेको छ। शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक भएको भन्दै बैठकले आजभित्र निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको छ।
“सरकार गम्भीर छ, खेलाँची गरेको छैन। सुरुमा केही ढिलाइ शिक्षकतर्फबाट भयो। अब वार्ता निष्कर्षमा पुग्छ र भोलिदेखि पठनपाठन सुरु हुन्छ भन्ने विश्वास छ,” ज्ञवालीले स्पष्ट पारे।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपाल सहभागी थिए। तर जनता प्रगतिशील पार्टी (जपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने आजैको पार्टी एकता घोषणासभाका कारण अनुपस्थित रहेका थिए।
प्रतिक्रिया