• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    अमेरिकाले चाहेको जुनसुकै युद्ध अन्त्यसम्म लड्ने चीनको प्रतिबद्धता

    1.8K
    SHARES



    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उत्पादनमा मंगलबारदेखि १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले अमेरिकासँग भन्सार युद्ध, व्यापार युद्ध वा कुनै अन्य युद्ध अन्त्यसम्म लड्ने प्रतिबद्धता जनाएको छ।

    परराष्ट्र मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै चीन कहिल्यै पनि दादागिरी वा जबर्जस्तीसामु नझुकेको बताए। मन्त्रालयले चीनमाथि चरम दबाब दिन खोज्नु गलत आकलन र भूल भएको पनि बताएको छ।

    सो पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले ‘यदि अमेरिकाको अरू कुनै मनसाय छ, र भन्सार युद्ध, व्यापार युद्ध वा कुनै पनि अन्य युद्ध लड्न जिद्दी गर्छ भने चीन अन्त्यसम्म लड्नेछ’ भनेका थिए। साथै उनले अमेरिकालाई दादागिरी छोडेर संवाद र सहकार्यको सही मार्गमा फर्कन पनि सुझाव दिएका थिए।

    उनको सो प्रतिक्रिया परराष्ट्र मन्त्रालयका प्रवक्ताको हेण्डलबाट एक्समा पनि पोस्ट भएको थियो। सो पोस्टलाई रिपोस्ट गर्दै अमेरिकामा रहेको चिनियाँ दूतावासले ‘यदि अमेरिकाले चाहेको युद्ध नै हो भने- चाहे भन्सार युद्ध होस्, व्यापार युद्ध होस् वा अरू कुनै खालको युद्ध होस्- हामी अन्त्यसम्म लड्न तयार छौं’ भनेर थपेको थियो।

    कुनै अन्य युद्धबारे बुधबार स्पष्ट पार्न भन्दा लिनले ‘यदि अमेरिकाको अरू कुनै नियत छ र चीनको स्वार्थलाई हानि गर्न जिद्दी गर्छ भने हामी अन्त्यसम्म लड्नेछौं’ भनी दोहोर्‍याए।

    ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई चीनले बेचेको आरोप लगाएर एक महिनाअघि थप १० प्रतिशत भन्सार लगाएका थिए।

    तर फेन्टनिल बनाउन चाहिने कच्चा रसायनको निर्यात रोक्न चीनले यसबीचमा केही नगरेको भन्दै मंगलबारदेखि लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका हुन्।

    ट्रम्पले भन्सारलाई फेन्टनिलसँग जोड्न खोजेकोमा पनि प्रवक्ता लिनले आपत्ति जनाए र त्यो चीनमाथि कडा व्यापार नीतिका लागि बहानामात्रै भएको बताए।

    बुधबार नै चीनको राज्य परिषद्ले ‘फेन्टनिल सम्बन्धित पदार्थ नियन्त्रण-चीनको योगदान’ शिर्षकको श्वेतपत्र जारी गर्दै चीनले अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रणको आफ्नो दायित्व कडाइका साथ पूरा गर्छ भनेर दाबी गरेको छ। त्यस्तै, लागूऔषध विरोधी अभियान चीन र अमेरिका बीचको सहकार्यको केन्द्रमा रहेको उल्लेख गरेको छ।

    दुई पटकको जोडेर ट्रम्पले चीनबाट आउने वस्तुमा २० प्रतिशत भन्सार बढाएका हुन्। ट्रम्पले मंगलबारदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएपछि चीनले जबाफी कदम चालिसकेको छ।

    चीनले मार्च १० देखि लागु हुनेगरी लगभग २१ अर्ब डलर मूल्यका अमेरिकी कृषि र खाद्य उत्पादनहरूमा भन्सार बढाउने घोषणा तुरून्तै गरेको छ ।

    तयस्तै चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत भन्सार लगाएको छ भने अमेरिकी भटमास, जुनेलो, सुँगुरको मासु, गाईको मासु, फलफूल-तरकारी तथा दुग्ध आयातमा थप १० प्रतिशत भन्सार लगाउने छ।

    त्यस्तै, चीनले राष्ट्रिय सुरक्षाको आधारमा २५ अमेरिकी कम्पनीहरूमाथि निर्यात र लगानी प्रतिबन्ध पनि लगाएको छ। एक महिनाअघि ट्रम्पले चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार बढाएको बेलामा भने चिनियाँ बजार नियामकले अमेरिकी कम्पनी गुगलविरूद्ध प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भनेर जाँच सुरू गरेको थियो। चीनमा गुगल ब्लक गरिएको छ। त्यो कदमले भने उसलाई चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न पनि अप्ठ्यारो पारेको थियो।

    त्यतिबेला अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यास उत्पादनहरूमा १५ प्रतिशत भन्सार अनि कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत चीनले भन्सार लगाएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ