एजेन्सी । इराकबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ। बुधबार इराकको अन्तिम सैन्य अड्डाबाट बाहिरिएसँगै इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यससँगै सन् २००३ मा सुरु भएको अमेरिकी सैन्य उपस्थितिको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको छ। तर अमेरिकी सेना बाहिरिएपछि इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने प्रश्न उठेको रोयटर्सले जनाएको छ।
इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित सशस्त्र समूहको प्रभाव बढ्न सक्ने र इस्लामिक स्टेटले पनि फेरि गतिविधि बढाउने मौका पाउन सक्ने चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सेना पहिलोपटक सन् २००३ मा इराक पुगेको थियो।
तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सरकारलाई हटाउन अमेरिकाको नेतृत्वमा सैन्य आक्रमण भएको थियो। सद्दाम सत्ताच्युत भएपछि पनि अमेरिकी सेना इराकमै रह्यो र नयाँ सरकार गठन तथा सुरक्षा व्यवस्थामा भूमिका खेलेको थियो।
त्यसपछि अमेरिकी सेनाले सद्दामका समर्थकसँगै अल–कायदासँग सम्बन्धित विद्रोहीविरुद्ध लामो समय युद्ध गरेको थियो। सन् २००७ मा अमेरिकी सेनाको संख्या इराकमा करिब १ लाख ७० हजारसम्म पुगेको थियो भनेर अमेरिकी अखबार वासिङ्टन पोस्टले समाचार लेखेको छ।
अमेरिकी सेना २००३ देखि २०२६ सम्म लगातार इराकमा बसेको होइन। पहिलोपटक सन् २०११ को अन्त्यमा अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरिएको थियो। तर त्यसको तीन वर्ष नपुग्दै इराकमा फेरि अमेरिकी सेना फर्किएको थियो। कारण थियो—इस्लामिक स्टेट।
सन् २०१४ मा इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि इराक सरकारले अमेरिकासहित अन्तर्राष्ट्रिय गठबन्धनसँग सहयोग मागेको थियो।
त्यसपछि अमेरिकी नेतृत्वको गठबन्धनले इराकी सेनालाई इस्लामिक स्टेटविरुद्धको युद्धमा सहयोग गर्न थालेको थियो। अमेरिकी सेनाले हवाई आक्रमण, गुप्तचर सूचना, निगरानी र इराकी सुरक्षाकर्मीलाई तालिम तथा सहयोग गर्दै आएको थियो।
सन् २०१७ सम्ममा इस्लामिक स्टेटले नियन्त्रणमा लिएको अधिकांश भूभाग गुमाइसकेको थियो। त्यसपछि पनि उक्त समूह पूर्ण रूपमा समाप्त भने भएन। अहिले इराकमा उसको मुख्य शक्ति स्लीपर सेल र साना समूहमा सीमित रहेको बताइन्छ।
त्यसैले अहिलेको अमेरिकी फिर्तीलाई २०११ को जस्तो सामान्य सैन्य फिर्तीभन्दा फरक रूपमा हेरिएको छ। यसपटक अमेरिकी सेना मुख्यतः इस्लामिक स्टेट विरुद्धको गठबन्धन मिसन अन्त्य गरेर बाहिरिएको भनिएको छ।
अहिले नै किन बाहिरियो अमेरिकी सेना?
अमेरिका र इराकले सन् २०२४ मै अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य मिसन अन्त्य गर्ने सहमति गरेका थिए। योजनाअनुसार सन् २०२५ सम्ममा इराकका अधिकांश क्षेत्रबाट गठबन्धन सेना हटाउने र बाँकी सेना पनि सन् २०२६ को सेप्टेम्बरसम्म फिर्ता गर्ने योजना थियो।
त्यही सहमतिअनुसार अहिले अन्तिम अमेरिकी सेना पनि इराकबाट बाहिरिएको हो। बाँकी रहेका करिब १ हजार ५०० अमेरिकी तथा गठबन्धनका सैनिकमध्ये अन्तिम समूहलाई इराकबाट अन्यत्र सारिएको र इस्लामिक स्टेटविरुद्धको क्षेत्रीय अभियान भने इराकबाहिरबाट जारी राख्ने योजना रहेको वासिङ्टन पोस्टले जनाएको छ।
यो फिर्तीको अर्को महत्वपूर्ण पक्ष के हो भने अहिले अमेरिकाको इरानसँग युद्ध चलिरहेको अवस्थामा पनि इराकबाट अमेरिकी सेना हटाइएको हो। इरानले इराकमा लामो समयदेखि राजनीतिक तथा सशस्त्र समूहहरूमार्फत प्रभाव छ।
अब इराकमा के असर पर्न सक्छ?
अमेरिकी सेना हटेपछि सबैभन्दा ठूलो प्रश्न इराकको सुरक्षा क्षमता हो। अमेरिकी सेनाले इराकी सुरक्षा बललाई इस्लामिक स्टेटका गतिविधिबारे गुप्तचर सूचना, हवाई निगरानी र अन्य सैन्य सहयोग दिँदै आएको थियो। अब त्यस्तो प्रत्यक्ष अमेरिकी सहयोग घट्ने भनेर रोयटर्सले जनाएको छ।
इराकी सुरक्षा मामिलाका विश्लेषक जसिम अल–बहादलीले अमेरिकी सेनाको अनुपस्थितिले इरानको प्रभावलाई सन्तुलन गर्ने एउटा महत्वपूर्ण शक्ति हटेको बताएका छन्। उनका अनुसार इरान समर्थित सशस्त्र समूहले सुरक्षा तथा राजनीतिक निर्णयमा आफ्नो प्रभाव अझ बढाउन खोज्न सक्छन्।
अर्कोतर्फ, इस्लामिक स्टेटको जोखिम पनि पूर्ण रूपमा हटेको छैन। इराकी अधिकारीहरूका अनुसार समूहसँग अझै स्लीपर सेल छन्। अमेरिकी सेनाले उपलब्ध गराउँदै आएको सूचना र निगरानी क्षमता कमजोर भएमा ती समूहले फेरि गतिविधि बढाउने अवसर पाउन सक्ने चिन्ता छ।
इराकी विश्लेषक अल–बहादलीले सुरक्षा शून्यता खतरनाक हुन सक्ने बताएका छन्। उनले सुरक्षा शून्यता अत्यन्त खतरनाक हुन सक्ने बताएका छन्।
यद्यपि अमेरिकी सेना फिर्तीलाई धेरै इराकीले आफ्नो देशको सार्वभौमसत्तासँग जोडिएको सकारात्मक कदमका रूपमा पनि हेरेका छन्। इरान समर्थित सशस्त्र समूहहरूले त यसलाई आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन्।
प्रतिक्रिया