काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माण अघि बढेपछि तनाव पनि बढ्न लाथेको छ ।
मुक्कुमुलङको नामले समेत चिनिने पाथीभरा क्षेत्रमा केबलकार निर्माण अघि बढेपछि शनिबार ठूलो झडप भएको छ । विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच शनिबार झडप हुँदा कयौँ घाइते भएका छन् ।
झडपका क्रममा २० जना प्रहरी घाइते भएका छन् भने ‘नो केबलकार समूह’का ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । झडपमा प्रहरी नायक उपरीक्षक पनि घाइते भएका छन् ।
ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आन्दोलनकारी घरेलु हतियारसहित आएको जानकारी आएपछि खानतलासी गरेको थियो । खानतलासी गरेर तीनवटा खुकुरी र गुलेली प्रहरीले जफत गरेपछि झडप भएको हो ।
पहिलो झडप भएर स्थिति सामान्य भएको थियो । तर कार्यालयतिर फर्किरहेको प्रहरीमाथि आन्दोलनकारीले आक्रमण गरेपछि दोस्रो पटक ठूलो झडप भएको हो । प्रहरीमाथि छुरा, खुकुरी र ढुंगा हानिएपछि सुरुमा अश्रुग्यास र अन्तिममा हवाई फायरसहित गोली चलाउनुपरेको एक अधिकारीले बताए ।
प्रहरीसँगको झडपका क्रममा चारजना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको आन्दोलनरत पक्षका नेता डकेन्द्र थेगिमले बताएका छन् । उनका अनुसार आन्दोलनरत यमबहादुर लिम्बूलाई देब्रे तिघ्रामा गोली लागेको छ । सगुन लिम्बूको छातीमा चोट लागेको छ । धर्मान पालुङ्वाको दाहिने कुहिनो भाँच्चिएको छ । अर्का प्रदर्शनकारी मंगल लावतीको टाउकोमा चोट लागेको छ । उनको ताप्लेजुङमा जिल्ला अस्पताल उपचार हुँदै छ ।
पाथीभरामा केवलकार निर्माणलाई लिएर यहाँ ठूलो विवाद हुँदै आएको छ । केही स्थानीयले ‘नो केबलकार समूह’ बनाएर आन्दोलन गर्दै आएका छन् । तर विवादबीच पाथीभरा जाने केबलकार निर्माणका लागि कम्पनीले मंगलबारबाट काम सुरु गरिसकेको छ ।
प्रतिक्रिया