काठमाडौँ । बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।
रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले आज पीडित र रविका तर्फबाट बहस हुने बताए । लामिछानेलाई शुक्रबार १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।
सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।
आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।
त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।
प्रतिक्रिया