चितवन । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।
बुधबार नवलपुरको गैँडाकोटमा एमाले निकट यातायात व्यवसायीहरूको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
मन्त्री महर्जनले डिजिटल प्रविधि मार्फत सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रदेश सरकारको तर्फबाट काम प्रारम्भ गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री महर्जनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानी डुब्दै गइरहेको, यातायात मजदुरहरू असुरक्षित महसुस गरी बिदेसिनु परिरहेको र जनताको सुरक्षित यात्राको अधिकार कुण्ठित हुँदै गइरहेको बताउदै यसलाई सुधार गर्न कानुन निर्माण र नियमावली निर्माणको काममा प्रदेश सरकारले द्रुतताका साथ काम गरिरहेको बताए ।
देशभरिका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सिण्डिकेट खारेजीका नाममा खारेज गरिएका यातायात व्यवसायीहरूका संघ समितिलाई नवीकरण गर्न सर्वोच्च अदालतले खुल्ला गरिदिएको भए पनि अहिलेसम्म कतिपय व्यवसायीहरूको सम्पत्ति फुकुवा नगरेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको फुकुवाका लागि संघ सरकारसँग समन्वय गर्ने बताए ।
आफूले यातायात व्यवसायीहरूको समस्यालाई नजिकबाट हेरिरहेको बताउँदै बागमती प्रदेशमा पनि सार्वजनिक यातायातको भाडा छिट्टै समायोजन गरिने बताए ।
प्रतिक्रिया