काठमाडौँ । नेकपा माओवादी केन्द्रले मङ्सिर २७ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको पदाधिकारी बैठकले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
बैठकले यही २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।
यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको छ । सापकोटाका अनुसार उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्नेछ ।
यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो । नेतृत्वको छनोटलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि विवाद समाधानको मुद्दा पेचिलो बन्दै गएको विद्यार्थी नेताहरूको गुनासो छ ।
प्रतिक्रिया