• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    पञ्चदेवल विनायका मेयर, उपमेयर र पूर्वप्रशासकीय अधिकृत सापकोटाविरुद्ध अख्तियारमा मुद्दा

    3.8K
    SHARES



    काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर, उपमेयर र पूर्व प्रमुख प्रशासकीय अधिकृतिविरुद्ध अख्तियारमा उजुरी परेको छ । स्थानीयले सार्वजनिक पद धारण गरी अनियमितता गरेको भन्दै मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल, पूर्व प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

    उजुरीमा पूर्वप्रमुख प्रशाकीय अधिकृत सापकोटाले हाजिर भएदेखि रमना भएको मितिसम्म पनि एकदिन पनि कार्यालयमा उपस्थित नभएको तर तलब भत्ता बुझेको भन्दै छानबिनको माग गरिएको छ। सापकोटालाई २०८० असोज १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । उनी २०८१ असार २१ गते रमना बुझेका छन् । यो अवधिमा सापकोटा एकदिन पनि हाजिर नभएको २०८१ साउन २७ गते पालिकाको प्रशासन शाखाले कुनै दिन पनि हाजिर नगरेको टिप्पणी मन्त्रालय पठाएको छ ।

    मन्त्रालय पठाएको पत्रमा पालिकामा २०७९ माघ १७ गते परीक्षणका लागि सुरु गरिएको र २०७९ फागुन १ गतेदेखि ई-हाजिरी सुरुवात गरेको उल्लेख छ । ई-हाजिर भएको र सापकोटा पालिकामा नपुगेकोले हाजिरी नदेखिएको बताइएको छ ।

    निजामति सेवा नियमावली, २०५० को नियम १२२ मा निजामति भई तोकिएको अर्थात स्थानीय सरकार संचालन ऐन, २०७५ दफा ८४ बमोजिमको कामकाज गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ । तर, सापकोटाले सरुवा गरिएको कार्यालयमा एकदिन पनि हाजिर नगरी तलब भत्ता खाएको भन्दै उजुरीमा कारवाहीको माग गरिएको छ ।

    ‘निजामति सेवा नियमावली, २०५० को नियम ६८ ले आफ्नो कार्यालयमा अनुपस्थित हुने निजामति कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय गर्नुको साथै गयल भएको अवधि सेवा अवधिमा गणना नहुने व्यवस्था गरेको छ । तर, निज प्रमुख प्रशासकीय अधिकृतले सो कानूनी व्यवस्थाका विपरित कार्यालय उपस्थित नै नभई र अर्को कुनै व्यक्तिलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत नदिई काठमाडौँस्थित घरमै बसेर प्रमुख प्रशासकिीय अधिकृतको रुपमा काम गर्नुको साथै सो वाफतको सेवा समेत उपभोग गर्दै आएका थिए’ उजुरीमा उल्लेख गरिएको छ ।

    सापकोटाले दुई तीन महिनाको अन्तरालमा काठमाडौँमा नै झिकाई दस्तखत गरी पठाउँदै मनोमानी र गैरकानुनी रुपमा कार्य गर्दै आएको र त्यसमा नगर प्रमुख र उपप्रमुखले सहयोग गरेको भन्दै उजुरीमा कारवाहीको माग गरिएको छ ।
    त्यसैगरी उजुरीमा नगरपालिकामा रहेको लेखा प्रमुखको दरबन्दीलाई रिक्त राखेर नगरप्रमुखले आफ्ना भाई नाता पर्ने लोगबहादुर चलाउनेलाई काजमा बोलाई लेखा प्रमुखको जिम्मा दिई नगरको सम्पूर्ण आर्थिक अधिकार सुम्पिएको छ । उनै सहलेखापाल चलाउनेले नगरपालिकाका सम्पूर्ण फाइलहरु काठमाडौँ नै ल्याएर स्वीकृत गराउँदै आएका थिए ।

    त्यसैगरी उपप्रमुख हर्कबहादुर रावलले आफ्ना छोरा हेमन्त रावललाई अवैध रुपमा खरिदारको रुपमा नियुक्त गरेर विना हाजिर घरमै बसेर तलब खुवाउँदै आएको पनि खुलासा भएको छ । त्यस्तै, मेयर चलाउनेका भतिज पर्ने दिपेन्द्र बहादुर धामीले पनि घरमै बसेर नासु सरहको तलब भत्ता खाँदै आएका छन् ।

    अख्तियारमा परेको उजुरीमा विना हाजिरी र नियुक्तिविना अवैध रुपमा घरमा बसेरै तलब भत्ता खाएको भन्दै छानविन गरी कारवाहीको माग गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ