काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पाैड्यालले संसद् दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु प्रति गम्भीर ध्यानाकर्षण भएकाे बताएकी हुन् ।
संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्चले यही असार १६ गते संसद् भवनकै लोत्से हलमा राखेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद भवनमै निदाउने गरेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘…घ्वार्र घ्वार्र सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखें । अलिअलि रेकर्ड पनि गरेर राखेकी छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् !’
उपसभामुखको यही अभिव्यक्तिमा कांग्रेसकी सांसद पौड्यालले आपत्ति जनाउँदै छानबिनको माग गरेकी हुन् । सांसद पौड्यालले भनेकी छन्, ‘हामी सांसदहरुलाई जुन आरोपहरु लगाइएको छ त्यो जायज छ कि नाजायज छ ? यसको छानबिन गर्नुपर्छ भन्ने यहाँ राख्न चाहन्छु ।’
विगतका उपसभामुखहरुको बोल्दे शैली ख्याल गर्न समेत उनले उपसभामुख रानालाई सुझाएकी छन् ।
प्रतिक्रिया