काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
प्रमुख सचेतक सन्तोष परियारले मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको जानकारी दिए ।
उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।
‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, बैठकपछि परियारले भने ।
यस्तै रास्वपाले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
उनले भने, ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ । बाँकी के गर्ने भन्ने कुरा अहिलेको राजनीतिक प्रक्रिया अघि नबढिनसकेको हुँदा सरकार परिवर्तन हुने प्रक्रियापछि हामी स्वभाविक रूपमा बाहिर निस्कन्छौँ ।’
परियारले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टी के कुरामा स्पष्ट छ भने अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै हामी हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउँछौँ । हामी बहिर्गमित हुन्छौँ ।’
उनले परम्परागत पार्टी रातारात सरकार बदल्ने कुरामा अभ्यस्त रहेको तर जनताको सङ्घर्षबाट नयाँ व्यवस्था आएपछि चेत खुल्नुको सट्टा २०४७ सालदेखि जुन कुरामा अभ्यस्त रहेका थिए त्यो कुराबाट पर नगएको र त्यसमा रास्वपाको विमति रहेको बताए ।
गृह प्रशासनबाट देशको कुसंस्कार विरुद्ध जसरी काम गरेपछि बाध्यात्मक अवस्थामा गठबन्धन फेरिएको बताए । भोली पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने, सरकारमा बस्दाका कुरा, कामहरू बारे समीक्षा गर्ने उल्लेख गरे ।
प्रतिक्रिया