• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गृहमन्त्री लामिछानेको नियत जीबी राई पक्रिने भन्दा भगाउन देखियो : महामन्त्री शर्मा

    1.1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत राखेको बताएका हुन् ।

    ‘तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिक मध्य एक जना फरार छन् । एक जना गृहमन्त्री छन् । सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेको गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?’ उनको प्रश्न छ, ‘अभिव्यक्ति पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो या भगाउने नियत हो ?’

    देशलाई जीवी राईको लोकेसन नभई जीवी राई चाहिएको शर्माले बताए । ‘त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछाएर दुई पक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागेको भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले जीवी राईलाई सरकारले पक्रिन चाहेन । पक्रिन चाहेको भए यतिको समय किन लाग्छ ? भन्नुभएको थियो । लोकेसन पत्ता लाग्दा पनि पक्रिन चार दिन किन लाग्छ ?,’ उनले भने ।

    मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीवी राईलाई ल्याउन कठिनाइ भए पनि असम्भव नभएको शर्माले बताए । मलेसियाबाट कुनै पनि अपराधीलाई पक्राउ गरेर ल्याउन सुपुर्दगी सन्धि नचाहिने महामन्त्री शर्माको दाबी छ ।

    ‘आजभन्दा १० वर्षअघि सुशील कोइराला प्रधानमन्त्री भएकाले मलेसियासँग नेपालको सुपुर्दगी सन्धि थिएन । तर चितवनको राजकुमार चेपाङ नाम गरेको एक जना व्यक्तिलाई मलेसियन सरकारकै सहयोगमा २०७१ साल माघ १६ गते पक्राउ गरेर नेपाल ल्याइएको थियो । अहिले मलेसियाको सुपुर्दगीको प्रक्रियाभन्दा पनि स्टन्टबाजी भइरहेको छ,’ उनले भने ।

    नैतिकताको प्रश्नले तत्कालीन अर्थमन्त्री रामशरण महत र जनार्दन शर्मालाई छोए पनि रवि लामिछानेलाई नछोएको उनको भनाइ थियो । आफूमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति बन्दा महत र शर्माले पदबाट राजीनामा दिए पनि गृहमन्त्री लामिछाने पदमै आसीन भएको प्रसङ्ग उठाउँदै शर्माले नैतिकताको प्रश्न उठाएका थिए ।

    सूर्यदर्शन सहकारीका पीडितहरूलाई सर्वोच्च अदालतको प्रवेशमा लगाइएको रोकबारे पनि शर्माले गृहमन्त्रीको नियतमाथि प्रश्न उठाए । उनले भने, ‘सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए ।

    अदालतले पाँच जनालाई पास पनि दियो । तर प्रहरीले उनीहरूलाई गेटमै रोक्यो । आफ्नो मुद्दासँग सम्बन्धी पीडितहरूले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दिए उनीहरुले सुन्न पाउनुपर्छ । तर, अदालतभित्र डोर ग्याङ (रास्वपाका नेताहरू) का साथीहरू इजलासमा बसेर मुद्दाको बहस सुनिरहनुभएको थियो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया