• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    अब ढुक्कसंग यति भन्न सकिन्छ- कृष्ण नगरकोटीको हत्या र उनका सन्तानको घाँटी न्याक्ने काम सरकारले गरेको हो

    6.7K
    SHARES



    काठमाडौँ । जनताका अभावको निवारण गर्ने बाटो बन्द गरिदिएर गरिवको दर्दनाक दर्दमा रमाउने नेताहरु एक पटक जनताको घाँटी निचोरेर केहि खर्व आफ्नो नाममा राख अनि समाजवादको दस्तावेज लेखेर नागाहरुलाई सुनाउ । बर्षमा पटक-पटक विश्वासको मत माग र पूराका पुरा विस्वास पाएको नाटक मन्चन पनि गर, गरिराख यो नाटक वर्षौंसम्म मन्चन ।

    अर्काथरी आफुलाई लागेका आनेकौँ आरोपहरु र अनेकौँ टिकाटिप्पणीहरुमाथि बहस नै हुन नदेउ, छलफल नै हुन नदेउ, एकले अर्काको मुख थुनेको नाटक पनि गरिराख मिलेमतोमा, अनि आफैले आफैलाई क्लिनचिट पनि देउ ! आफु बेदाग रहेको प्रमाण पनि आफैँ दिन खोजिराख, आखिर नाटकै त हो !

    नेताहरु देखाउन लायक मध्येको सानो हिस्सा सम्पति सार्वजनिक गर र भन हाम्रो आर्थिक जीवन एकदम पारदर्शी छ । सम्पत्ति विवरण सार्वजनिक  गर्नुभन्दा केहि समय अगाडी श्रीमतिको नाममा सम्पति राख अथवा श्रीमतीको नाममा सम्पत्ति राखेर कर बापताको केहि रकम बचाउ र भन हामी लैंगिक विभेदका बिरोधि हौँ, हामी महिलालाई सम्पत्तिको जिम्मा लगाएर उनीहरुलाई मालिक बनाएर उनीहरुको इज्जत र सम्मान गर्छौं । कोहि च्यात्तिएका लुगा लगाएर सार्वजनिक मन्चमा जाउ सामाजिक सञ्जालमा फोटो भिडियो सेर गर र गीज्याउँदै गर गरिव जनतालाई जसले शरीरको रगत जम्ने चिसो र धुपमा जिउ छोप्ने लुगा पाउँदैनन् । 

    तिमीहरुले दसकौँ कटाएको बुढो पाठ्यक्रम पढ्न लगाएर अन्धकारको भुमरीमा युवा पुस्तालाई फनफनी घुमाउन्दै विश्वविद्यालयबाट आफ्नो जयजयकार गर्ने झोले मात्रै उत्पादन गर्न खोज्ने षड्यन्त्रकारी सोचलाई चुनौती दिंदै इन्टरनेटले हाम्रो जेनेरेसनलाई विश्व र विज्ञानसंग पनि जोडेको छ र सिकाएको छ सिक्षा र ज्ञानका फरक फरक परिभाषा ! अनि हामीले यो पनि जानेका छौं कि संसारका जुनसुकै चिज बस्तुका पनि राम्रा र नराम्रा पाटा हुन्छन् नै । अनि तिमीहरु आफुले आफैलाई कसरि क्लिनचिट दिन सक्छौ ? कसरि आरोप मात्रै लगाइ रहन सक्छौ ? तिमीहरु कहिले आफ्नो समस्या समाधान गर्ने प्रयास गर्छौ ? कहिले समाधान गर्छौ ? कहिले जनतालाई देख्छौ र बुझ्छौ ? कहिले भोकाहरुको भोकलाई बुझ्छौ ? कहिले जनताको समस्याको समाधान गर्न तिर लाग्छौ ?

    मंगलबार यी नाटकहरु पालै पालो मन्चन भइरहँदा भक्तपुर घर भएका कृष्ण नगरकोटी काठमाडौँमा मृत भेटिए । सोमबार उनका छोरा रिचेन पनि घाइते अवस्थामा फेला परे ।  भक्तपुरको छालिङ–७ घर भएका ५४ वर्षका कृष्ण नगरकोटी मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा- ५ को थली भन्ने ठाउँमा मृत भेटिएका हुन् भने उनका छोरा रिचेन नगरकोटी पनि घाइते अवस्थामा भेटिएका हुन् ।

    हेर्दा उनलाई नजिकबाट चिन्ने कसैले उनको आपसी दुस्मनीका कारण परिवारमा जाइलागेको पो हो कि जस्तो लाग्न सक्छ, यो समाचार सुरुमा सुन्दा मलाई पनि यस्तै लागेको थियो ।

    कृष्णका छोरा रिचेनाले चोभारको चाल्नाखेलमा ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गर्दा प्रहरीको क्यूआरटी मोटरसाइकलमा सवार सुरक्षाकर्मीले उनलाई उद्धार गरे । उद्दारपछि उनले प्रहरीसंग भने ‘बुवाले भनेर आत्महत्या गर्न आएको हुँ, बुवा पनि आत्महत्या गर्छु भनेर हिँड्नु भएको छ ।’

    (अब एक थरि मान्छेहरु भन्लान् उनीहरु कायर हुन् यिनीहरुका कुरासुनेर काम छैन, आत्म हत्या गर्नु अपराध हो माहाँ अपराध हो । दु:ख भयो भन्दैमा मर्नै पर्छ र? के अरु दू:ख भएका मान्छेहरु छैनन् ? सडकमा भिख मागेर पनि त जीवनलाई निरन्तरता दिन सकिन्छ?)

    यो सोचाई र प्रश्नहरु पनि गलत छैन तर कृष्णले आफ्नाे र छोराको आत्माहत्या गाउनुको कारण के हो ? समाजका हजारौँ दु:खहरु मध्येको उनको त्यस्तो दु:ख के थियो ? जसले आफैंलाई हत्त्या गर्नु पर्यो ?

    आत्माहत्या के साच्चिकै कायरता हो ? जिम्मेवारीबाट भाग्ने सजिलो बाटो आत्महत्या हो, पाप नै हो त ? के आत्महत्या गरेपछि ऋणबाट मुक्त भइन्छ ? अथवा आत्महत्त्या मान्छेको जीवनको तनाव, दु:ख वा झमेलाबाट छुटकारा पाउने अन्तिम र सजिलो को उपाए हो ? यो सजिलो उपाए हो कि कठिन विकल्प हो ?  यो जीवनको विकल्प हो कि होईन ? के हो आत्महत्या ? कसरि आउँछ मानिसको दिमाखमा यस्तो सोच ?

    कृष्णको कथा हेरौँ ।

    कृष्णले बा.१ ज ९६५ नम्बरको ट्याक्सी भाडामा लिएर चलाउँथे र तेही ट्याक्सी चलाएर जीवन गुजारा गर्थे । एक छोरा र एक छोरीलाई  खानेकुरा किन्न र घरभाडा तिर्न पुग्थ्यो । दुखै गरेर भए पनि जेनतेन जीवन चलिरहेकै थियो । जेठ ८ गते तेही ट्याक्सी पनि थलीको उकालोमा पुगेर रोकियो । जिन्दगीको यो अर्को झट्कामा उनीहरु यसरि लडेकी मानसिक रुपमा उठ्नै सकेन् ।

    जबर्जस्त धकेलेको जिन्दगीको लय बिग्रियो र परिवारको बिचल्ली भयो । अब न खानेकुरा किन्न पाइयो न घरभाडा तिर्ने पैसो आयो ! गाडीको भाडा पनि त तिर्नु पर्ने हुन्छ । करिव १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका कृष्ण दुई सन्तानसँग रवि भवन स्थित गणेशस्थानमा डेरा गरि बस्दै आएका थिए । कोठा भाडा तिर्न नसकेपछि आफुहरु पछिल्लो ३ महिना ट्याक्सिमै बस्ने गरेको चिरेन बताउँछन् ।

    कृष्णले छोरी रस्मिलाई बिग्रिएको ट्याक्सिमै बस्न भने र (जुन ट्याक्सी घर थीयो ३ महिना देखि) आफु मेकानिक लिएर आउँछौँ भन्दै छोरालाई साथमा लिएर हिँडे । रस्मी बुबाले मेकानिक लिएर आउँछन् र बिग्रिएको गाडी चल्छ भन्ने आसमा कुरिराहीन् । हेरीरहिन् बुबा र भाई आउने बाटो तर रस्मीलाई के थाहा कृष्णले धिमा-धिमा चलाइएको जिन्दगीका ठिकठाक पाठपुर्जा छिनाल्दै छन् भनेर ? उनलाई के थाहा बुवाको दिमागमा भाईलाई पनि आफूबाट अलग बनाउने कठोर विचारले डेरा मात्रै होईन घर नै बनाइ सकेको छ भनेर । उनलाई थाहा हुँदो हो त कसरी सक्दिहुन आफुलाई बाँधेर राख्न ? जाँदि हुन् आफ्नाहरुसंगै आफैँलाई सक्काउन जिन्दगीको कठिन, क्रुर तर अन्तिम यात्रामा । उनले त बाबाले भनेका कुरा पत्त्याएरै बासिन् ३ महिना देखिको घर चल्न नसक्ने गाडीमा ।

    उता कृष्ण भने छोरोलाई मुखमा कपडाको बुजो कोचेर घाँटि छिनाल्न भन्दै १ सय २५ रुपैयाँ गाडी भाडा दिएर छुट्टिए । सायद कसैले नदेख्ने ठाउँ यो गाइगुई सहर, चहलपहल बस्तिभन्दा पर पुगोस छोरो र सफलहोस् आफैले आफैलाई छिनाल्न ! अनि उसले अहिले यो दुनियाँमा तिरस्कारको जिन्दगी बाँच्न नपरोस्, खान नापाएर भोक भोकै छट्पटाउन नपरोस् ! उ जिन्दगीको अन्तिम यात्रामा निस्किन सफल होस् । तर रविनलाई भने प्रहरीले उद्दार गरेर बचाउन सफल भएको छ । कृष्ण भने अब सधैँका लागि गइसकेका छन् दुनियाँबाट, उनलाई थाहा छैन आफुले तालिम दिएर पठाएको छोरो आफुले पठाएको गन्तव्य सम्म पुग्नै पाएन । उनलाई प्रहरीले बचाएको छ ।

    भन्न त प्रहरीले रस्मी र रिचेनको मानसिक अवस्था ठिक नदेखिएको भनेको छ तर कृष्णको मानसिक अवस्था भने ठिक थिएन कसरी भन्न सकिन्छ ? उनको मानसिक अवस्था बिग्रिएको भए कसरी छोरा छोरीको बारेमा यति धेरै चिन्ता गर्नसक्थे ? आफुले भोगेको जिन्दगि आफ्ना सन्तानले नभोगुन भन्ने कसरि सोच्न सक्थे? आफ्नो सन्तानले आफ्नै अगाडी घाँटि छिनालेको देख्न नपरोस् भनेर मृत्यु बिन्दु पनि कतै टाढा अनि छुट्टा-छुट्टै ठाउँ कसरि रोजे होलान ?

    यो एकै दिनमा, एकै छिनमा बनेको प्लान होईन । आफै श्रम गरेर पसिना बगाएर बाच्न आतुरमान्छे अरुलाई लुटेर, दु:ख दिएर, अरुलाई चुसेर खानै सक्दैन जिउनै सक्दैन । बरु अरुले जति अपहेलना गरे पनि उसले आफ्नो कामलाई माया गरेर आफ्नो कामलाई हेर्दै कामकै भरोसामा जीवन जिउन सक्छ । कृष्णलाई काम गर्नै नसक्ने गरि उनको बिचल्ली बनाएको यो सरकारले नै हो भन्न मलाइ अफ्ठ्यारो लाग्दैन ।

    अब मालाई यति बोल्न कुनै हिचकिहाहट छैन, कृष्ण नगरकोटीको हत्या र उनका सन्तानको घाँटी न्याक्ने काम सरकारले नै गरेको हो । किनकी जुन देशमा रोजगारको ग्यारेन्टी छैन, निमुखालाई हातमुख जोर्ने कुनै व्यवस्था छैन, धनी निरन्तर धनी बन्दै जाने र गरिब झनझन् गरिबीको चपेटमा परेर आत्महत्याको बाटो रोज्ने अवस्था छ, यो सबै दोष भ्रष्ट राज्य व्यवस्थाको हो ।

    त्यसकारण कृष्ण नगरकोटीको हत्यारा सरकार हो, जनतालाई भोटबैंक मात्रै बनाउने र जनताको रगत चुस्नेहरू सबै मिलेर कृष्ण नगरकोटीको हत्या गरेका हुन् । अब यति बोल्न पनि डर छैन, कृष्ण नगरकोटीलाई सडकमा फ्याक्ने र उनको घाँटी न्याक्ने काम सरकारले गरेको हो… !

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ