• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास र जेठ १

    9.1K
    SHARES



    आज जेठ १ गते विद्यार्थी एकता दिवस एवम् विजय दिवश ! ऐतिहासिक आवश्यकता बोध र पहलकदमीको दिन, यो गौरवमय दिनमा सर्वप्रथम नेपाली विद्यार्थी आन्दोलनको पहिलो सहिद गंगलाल श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, महान दशवर्षे जनयुद्धको पहिलो सहिद कमरेड दिलबहादुर रम्तेल, अखिल (क्रान्तिकारी) का तत्कालिन उपाध्यक्ष कमरेड बेनोज अधिकारी, महासचिव पुर्ण पौडेल, एकिकृत जनक्रान्तिका पहिलो सहिद क. प्रज्जवल शाहीलगायत देशको परिवर्तनका निम्ति ज्यानको आहुती दिने सम्पूर्ण सहिदहरुप्रती उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । बेपत्ता, घाईते कमरेडहरुप्रति विशेष स्मरणसहित उच्च सम्मान ब्यक्त गर्दछौ । यो ऐतिहासिक दिनमा सहिद वेपत्ता तथा घाइते कमरेडहरुको परिवर्तनको सपना पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्दछौं । ६० औ विद्यार्थी स्थापना दिवस तथा ५९औ एकता एवम् विजय दिवसको अवसरमा समपूर्ण विद्यार्थीहरु लगायत समस्त नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै, खुसियाली साटासाट गर्न चाहन्छौं ।

    ऐतिहासिक पृष्ठभुमी
    जागरण, दवाव र प्रतिपक्षीय आन्दोलनको पर्याय बिद्यार्थी संगठन निरंकुश राणाशासनकै बीचमा ऐतिहासिक पहलकदमीसहित संगठित भएको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथीको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथीको प्रतिबन्ध, राणा शासकहरुको बोली कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरुवात भएको विद्यार्थी आन्दोलन गौरवपूर्ण छ । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम वि.सं.१९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरुले ‘नेपाली छात्र संघ’ गठन गरे । वि. सं. १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता नेपालको पहिलो राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ का सदस्य गंगलाल श्रेष्ठलाई राणा शासकहरुले शोभा भगवतीमा झुण्ड्याएर फासी दिए । यसले परिवतर्नकारी युवा विद्यार्थीहरुलाई राणा शासकहरुप्रति थप आक्रोसित बनायो ।

    वि. सं. २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरुले ‘हिमाञ्चल विद्यार्थी संघ’ गठन गरे । राणाहरुको चरम दमनकारी नीतिले राणा शासनको अन्त्य गर्नुपर्ने महशुस सबैले गरेका थिए । त्यहीबेला २००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम’नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यसको मुख्य भित्री उद्देश्य राणा शासनका विरुद्ध संगठित रुपमा संघर्ष गर्नु थियो । राणाहरुको चरम दमनका कारण बाहिरी रुपमा शिक्षामा कर्मकाण्डबाहेक इतिहास, अर्थशास्त्र, भूगोललगायतका विषयहरु समावेश गर्नुपर्ने मागहरु राखेर संघर्ष चर्काइरहेको थियो । यहि क्रममा २००४ साल मंसिर २२ गते संस्कृत छात्रवास काठमाडौंबाट राणा शासकहरुले ४३ जना बिध्यार्थीहरु निष्काशन गर्यो ।

    विद्यार्थीहरुले चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भुमीगत रुपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेड्रेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो । राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरुले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पौष २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षिय रुपमा राष्ट्रघाती दिल्ली सम्झौता गरे । उक्त धोेकापूर्ण दिल्ली सम्झौताको अ.ने.वि.फे.ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कार्तिक २० गते आन्दोलनको क्रममा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री वि.पी. कोइरालाको आदेशमा विश्व निकेतन हाइस्कुलमा अध्यनरत १४ वर्षे विद्यार्थी चिनियाकाजी श्रेष्ठको काठमाडौंको भुगोलपार्कमा लगेर गोली हानी हत्या गरियो ।

    वि.संं २०११ सालमा अ.ने.वि.फे.ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशील अन्तर कलेज विद्यार्थी युनियन र अनेविफे बीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेड्रेसन’ गठन गरियो । वि.सं. २०१९ सालममा डा. केशरजंग रायमाझी दरवारीया कम्युनिष्टमा पतन भइसकेपछि नेराविफेमा फुट आयो । नेराविफेको मुल प्रवाहले पनि क्रान्तिकारी छबिलाई बिगार्दै रुसी संशोधनवादमा फस्न पुग्यो । क्रान्तिकारी विद्यार्थीहरुले रुसी संशोधनवाद मुक्त क्रान्तिकारी विद्यार्थी संगठनको महशुस गरे । वि.सं. २०२१ साल बैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धीहरु, खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरु निःशर्त रिहाई गर्नुपर्नेलगायतका मागहरु राखी शसक्त संघर्ष गर्ने निर्णय गर्यो ।

    सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसियालीमा जेठ १ गते काठमाडौंमा विशाल जुलुश गरियो । पञ्चायती सरकारले अत्तालिएर जुलुशमाथी बर्बर दमन गर्यो । सयौं विद्याथीहरु गिरप्तार भए । कैयौं विद्यार्थी र प्रहरीहरु घाइते भए । तत्पश्चात विद्यार्थीहरु थप आन्दोलित बने । उपत्यकाव्यापी आम हड्ताल सुरु भएपछी पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र गिरफ्तार बिध्यार्थिहरु रिहाई लगायतका मागहरु पूरा गर्न बाध्य भयो । यसरी वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले ‘कू’ गरिसकेपछी राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाब्यापी बिद्यार्थीहरुको एकताको रुपमा दर्ज भएको दिनको सम्झनामा प्रत्येक वर्ष जेष्ठ १ गते एकता तथा विजय दिवसको रुपमा मनाउने गरिन्छ ।

    युवा बिद्यार्थीहरुको भुमिका
    नेपाली क्रान्तिकारी युवा विद्यार्थीहरु निरंकुश राणा शासनविरुद्ध लडे, पञ्चायतका विरुद्ध लडे, बहुदलिय व्यवस्थामा ठूलो संघर्ष गरे, २०५२ साल फागुन १ गते सुरुवात गरिएको महान जनयुद्धमा सामेल भएर जनयुद्धको पहिलो सहिद बन्ने अबसर विद्यार्थीलाई प्राप्त भयो । नेपालमा गणतन्त्र स्थापना गर्नका लागि थुप्रै विद्यार्थीहरुले जीवनको उत्सर्ग गरे । प्रचण्ड–बाबुरामहरुको बेइमानीका कारण आज देशमा प्रतिक्रान्ति भइरहेको छ । देश इतिहासकै सर्वाधिक सङ्कट तथा निरासाको बादलले झपक्कै छोपेको स्थितिमा छ  । युवा पुस्तालाई देशमा रहने बातावरण बनाउन छोडेर सरकारले उद्योगधन्दा, कलकारखाना सञ्चालन गरिरहेका राष्ट्रिय पुजीपतिबर्गलाई दोहोरो कर आतंकले सन्त्रास फैलाइरहेको छ ।

    भारतको कब्जामा रहेका सबै बैङ्कहरुले सङ्कटको मौका छोपेर महङ्गो ब्याज अशुल गरिरहेका छन । केहि ठुला ब्यावसायिक घरानाहरुले बाहेक बैङ्कवाट ऋण पाउने स्थिति छैन । अलि अलि कनिका छरेजस्तो गर्ने ऋण प्रवाह पनि बिचमा दलाल माइक्रोफाइनान्सहरु खडा गरेर नेपाली व्यवसायीहरुलाई थप लुट्ने पासाहरु थापिएको छ , जसले रास्टिय पुजिपति तथा ब्यावसायिहरु धमाधम सटर बन्द गर्दै छन । सरकार युवा पुस्तालाई पासपोर्टधारी दाम्लोले बाधेर बिदेशमा बेचिरहेको छ, तिनै युवाहरुले पसिना चुहाएर पठाएको रेमिटेन्सले फिर्के सलामी खानेहरु र रिवन काट्नेहरु मस्तिको जिवन जिउन पाएकोमा नतमस्तक छन । सेता हात्तिहरु पाल्न बिदेशिएका युवाहरु भारत तथा खाडी देशहरुमा बहुत हेपाईको जिवन जिउन विवश छन । प्रतिदिन ४/५ वटा लास बिदेशवाट त्रीभुवन बिमानस्थलबाट भित्रीरहेका छन, देश छोड्नेहरुको भिड हेर्दा देश कहालिलाग्दो अवस्थामा छ । नेपाली किसानहरुको अवस्था उस्तै छ । सरकारले बिषादीयुक्त तरकारी भारतबाट निर्वाध आयात गरिरएको छ, नेपाली किसानहरुको तरकारी बारीमै कुहिरएको छ, किसानहरु पुरै धरासायी छन् ।

    उल्लेखित विषयले देश पुरै सङ्कटको भुमरिमा फसेको बुझ्न कठिन छैन । इतिहासको आवश्यकता र माग भएको बेला युवा क्रान्तिकारी विद्यार्थीहरुले उचित पहलकदमी लिएको हाम्रो विगत छ , आज पुन: त्यो पहलकदमी लिन अपरिहार्य भएको छ । राज्यका सबै क्षेत्रमा देखिएको सङ्कटको मुल जड हाम्रो खराव राजनिति हो तसर्थ राजनितिको मुल बागडोर युवा बिद्यार्थीहरुले सम्हाल्न जरुरी छ । हामीले बिशेष स्मरण गर्न जरुरी के छ भने बिजयको सन्निकट पुगेका नेपाली क्रान्तिहरु हारमा परिणत भएका छन तसर्थ युवा बिद्यार्थीहरुले निम्न तीन कुरामा बिशेष ध्यान दिनैपर्नेछ ।

    क्षमताको बिकाश – आजको युगको लिडरशिप गर्न युवा पुस्ताले अथाह क्षमताको बिकाशमा नितान्त ध्यान दिनै पर्द्छ …..यति बर्ष देखि पार्टि/ सङ्गठनमा जोडिएको , ……यति बर्ष जेल बसेको भन्ने कुराले मात्रै अबको लिडरशिप सम्भव छैन । इमान्दारिता र सङ्घर्षशिल सङ्गै क्षमतावान पुस्ताले मात्रै अबको लिडरशिप गर्न सम्भव छ । हामीले टिके प्रणालीबाट गरिने नेतृत्व चयन प्रणालीलाई सख्त खारेज गर्नुपर्दछ, जसले क्षमतान नेतृत्व जन्माउदैन , मात्रै दास जन्माउछ । नेताहरु रिझाउने, गुलामी गर्ने र नेता बन्ने प्रबृत्ति पुरै कोल्याप्स गर्नुपर्छ । नेता , कार्यकर्ताबाट अनुमोदित नेतृत्व चयन प्रणालिको बिकास गर्नुपर्दछ । क्षमतावान नया पुस्तालाई क्रान्तिकारी आन्दोलनमा गोलबद्द गर्ने र जिम्मेवारी दिने प्रणालिको थालनी गर्नुपर्दछ , हामीले नया क्षमतावान पुस्तालाई आन्दोलनमा गोलबद्द गर्ने ढोका बन्द गरेका छौ‌, त्यो बन्द ढोका खोल्नुपर्दछ ।

    आत्मनिर्भर अर्थतन्त्रको बिकास – मानविय जिवनमा रक्तसन्चार जत्तिकै महतवपुर्ण छ आर्थिक पक्ष । क्रान्तिकारी आन्दोलनमा योजनाहरु जतिसुकै जनपक्षिय र शुन्दर भएपनि त्यसलाई कार्यान्वयन गर्न पैसाकै जरुरत हुन्छ । सारमा नेता भनेको कुशल ब्यवस्थापक हो । देश बदल्छु भन्ने मान्छेले, आफ्नो र परीवारको न्युनतम ब्यवस्थापन समेत गर्न सक्दैन भने देश बदल्ने सपना सपना मात्रै हुन्छ । क्रान्तिकारी आन्दोलनमा गोलबद्द हुने अनि समाज र देशका लागि योगदान गर्छु भन्ने योद्दाहरुले सामुहिक उत्पादन प्रणालीको बिकासमा जोड दिदै आत्मनिर्भर हुन जरुरी छ । जसको जिवनपद्दति देखेर घरपरिवार र समाजका मान्छेहरुले आशा र भरोसा गरुन । जिवनभर आन्दोलनमा जोडिएर घरपरिवारका मान्छेहरुले नै घृणा र अपहेलाना गर्ने परिस्थिति बन्नुहुदैन । क्रान्तिकारी आन्दोलनमा जोडिने योद्दाहरुको जिवन सरल र अनुकरणिय हुनुपर्दछ । जो देखेर आम मान्छेलाई आन्दोलनमा जोडिन उत्प्रेरित गरोस । आजसम्मका क्रान्तिहरु बिजयको एउटा चरणमा पुग्दा धान्न गार्हो पर्ने र नेताहरुले कुनै शक्तिकेन्द्रको सहयोग लिने अनि त्यहि शक्ति केन्द्रको गोलचक्करमा फसेर आन्दोलन तुहिने कुराप्रति बिशेष सचेत र सजग हुदै हामी जुन जिम्मेवारीमा छौ त्यहि आत्मनिर्भर अर्थप्रणालीको जग बसाल्नै पर्दछ ।

    सन्चार माध्यमको बिकाश – क्रान्तिकारीहरु बल प्रयोगको शिद्दान्त अङ्गिकार गर्दछन र हतियारको प्रयोगलाई बिशेष महत्व दिन्छन । सन्चार जगतको अभुतपुर्व बिकासले एउटा चरणसम्म सन्चार जगत हतियारभन्दा कयौ गुणा बलशालि भएको छ । यसको ब्यापक सदुपयोगमा ध्यान दिनैपर्ने भएको छ । हामीले राम्रोसङ्ग बुझ्नुपर्दछ की अर्को बर्गको सन्चार माध्यमले हाम्रा बिषयहरु प्रवाह गर्दैन । जसका निम्ति हाम्रो आफ्नै राष्ट्रियस्तरको सन्चार माध्यमको बिकासमा जोड दिनैपर्दछ । अहिले दिनभरि नेता-कार्यकर्ताले दुख गर्ने, इमान्दारिपुर्वक जनताका पक्षमा निरन्तर काम गर्ने तर साझ कोठामा पुग्दा दिनभरी गरेको काम संगै सुत्ने साथीले थाहा नपाउने ! श्रीमानले गरेको काम श्रीमतिले थाहा नपाउने जो परिस्थिति छ यसको अन्त्य गर्नुपर्दछ । जनताका पक्षमा गरिने कामहरु सबैले थाहा पाउने स्तरमा प्रवाह गर्नुपर्दछ र जनताका बैरिहरुको असलि मुखुण्डो उतार्नुपर्दछ । उल्लेखित कामहरुमा युवा पुस्ताले बिशेष सकृयता देखाउनुपर्दछ । तवमात्र हामी आजको युगको लिडरशिप गर्न र निराशाको कालो बादलबाट देशलाई मुक्त गरेर अगाढि लैजान सक्छौ । पुनः ६० औं विद्यार्थी स्थापना दिवस र ५९ औ एकता एवं विजय दिवसको अबसरमा विद्यार्थी तथा आम जनसमुदायमा हार्दिक शुभकामना ।

    * लेखक अखिल (क्रान्तिकारी) त्रीभुवन बिस्वबिध्यालय सङ्योजक हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ