काठमाडैँ। हालसालै एक हप्ताभित्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको तर्फबाट दुई बिज्ञाप्तिहरू आए । पहिलो बिज्ञाप्तिमा क. कञ्चनलाई क्रान्तिको रथ हाक्न पार्टी नफोड्न अनुरोध गरिएको थियो भने दोस्रोमा संसोधनवादी करार गर्दै उनी लगायत सयौलाई केन्द्रीय समितिबाट निष्कासन गरिएको थियो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएर कम्युनिस्ट आन्दोलन चलेको ७५ बर्ष भयो । यो लामो कालखण्डमा २००६ सालदेखि २००८ सालसम्म दुई बर्ष क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा, २०२८ देखि २०३६ सम्म ८ बर्ष पूर्ब झापा बिद्रोह र मालेको नेतृत्वमा २०४३ देखि २०६३ सम्म २० बर्ष क. प्रचण्डको नेतृत्वमा मशाल, एकता केन्द्र, माओवादीले गरेको बिद्रोह जनयुद्ध गरि ३० बर्ष कम्युनिस्ट आन्दोलन सही बाटोमा चलेको र बाँकी ३५ बर्ष दिशाबिहीन अवस्थामा चलेको देखिन्छ । पुष्पलाल दक्षिणपन्थीहरूद्वारा किनारामा पुराइएका थिए भने झापा बिद्रोह, मालेको नेतृत्व स्वयम् दक्षिणपन्थी बाटोमा लागेको थियो । माओवादी जनयुद्धको प्रमुख नेतृत्वकर्ता प्रचण्डको दलालपूजीवादमा पतन भएपछि अहिले लाखौ क्रान्तिकारी नेता कार्यकर्ता जनसमुहहरू क्रान्तिको पक्षमा भएता पनि सबै क्रान्तिकारीहरूदाई समेटेर क्रान्तिलाई अघि बडाउने कुनै पार्टी र नेतृत्व देखा परेको छैन । यो बस्तुगत यथार्थता हो । अहिले क्रान्तिलाई अघि बढाउन कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नु सबै क्रान्तिकारीरूको दायित्व हो ।
कम्युनिस्टप्रति जनमत धेरै छ तर कम्युनिस्ट आन्दोलन प्रतिक्रियावादी धारा,उदारवादी धारा र क्रान्तिकारी धारा गरी तीन चिरामा बिभक्त छ । समर्थनका हिसाबले ठूलो जनमत क्रान्तिकारी धाराको पक्षमा भएता पनि संगठानात्मक हिसाबले यो धारा कमजोर स्थितिमा पुगेको छ । प्रतिक्रियावादी धारा प्रष्ट छ , यो सत्ता पक्ष भएर आएको छ । दलालपूजीवादी भित्रको गठबन्धनमा छ । यसभित्रका क्रान्तिकारीहरू क्रान्तिका मीत्र शक्ति हुन् भने प्रतिक्रियावादीहरू दुश्मन शक्ति हुन् यो स्पस्ट छ । उदारवादी मार्क्सवादी आत्म- तत्वज्ञानी एक समूह छ यसले आफुलाई सदावहार स्थिर स्थायी क्रान्तिकारी मान्दछ र अरू सबैप्रति निषेधात्मक ब्यबाहार गर्दछ । मुलतः उदारवादी समूह पनि रूपमा क्रान्तिकारी देखिए तापनि सारमा दक्षिणपन्थी नै हुन्छ । अहिले क्रान्तिकारीहरूले यी दुबै धाराका बिरूद्ध सङ्घर्ष नगरिकन क्रान्तिको रथलाई अघि बढाउनै सक्दैनन् ।
अहिले कुनै धुर्त चटकीले छुमन्तर गरेजस्तो माओवादी क्रान्ति गायब भएर दलालपुजीवादी ब्यबस्था आएको छ । माओवादी जनयुद्धका प्रतिक्रियावादमा पतन नभएका नायकहरू एक विशिष्ट ऐक्यबद्ध हुँदै आ- आफ्नो अयोग्यताको स्वीकार गर्नुको सट्टा आफ्नै कीर्तिको गुनगान गर्न गराउन ब्यस्त देखिन्छन् । प्रतिक्रियावादीहरूले जति न्यूनीकरण गर्न खोजे पनि लोकतान्त्रिक गणतन्त्र , धर्मनिर्पक्षता, समानुपातिक समाबेशी ब्यबस्था, समाजिक जागरण आदि उपलब्दीहरू माओवादी जनयुद्धबाट प्राप्त भएका कुराहरू जनताले बिर्सेका छैनन् । अहिले जनताको अबिश्वस माओवादी जनयुद्धप्रति होइन नेताहरूप्रति छ ।
अतितबाट प्रेरणा लिने कि भबिस्यबाट प्रेरणा लिने ? यो प्रश्नमा दुर्बलहरूले सधै चमत्कारको शरण लिने गर्छन र अतितबाट प्रेरणा लिने कोसिस गर्छन्, क्रान्तिकारीहरूले अतितलाई अतितै गर्भमा गाडेर त्यसको जगबाट क्रान्तिलाई उठाउँछन् । अतितसम्बन्धि आफ्ना सबै अन्धबिश्वासबाट मुक्त नभएसम्म क्रान्तिले आफ्नो कार्यभार पूरा गर्न सक्दैन । अनुभववाद र अतितवादी पनि एक रोग हो ।
कम्युनिस्टहरू भौतिकवादी नभएसम्म क्रान्तिका कुरा गर्नु एक पाखण्ड मात्र हो । द्वन्द्ववादले भौतिक जगत निरन्तर चलायमान छ र त्यसमा परिवर्तन नबिकरण र बिकास भइरहन्छ। पुरानोको अन्त हुने र नयाँ निस्कने प्रक्रिया अटुट रूपमा चलिरहन्छ । यही भौतिकवादी सिद्धान्तलाई सामाजिक जीवनको अवस्थामा पनि प्रयोग गरिन्छ । यसरी सामाजिक जीवनका घटना र समाजको इतिहासलाई अध्यायन गर्न द्वन्द्वात्मक भौतिकवाद प्रयोग गरिदा यसलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । मैले कुनै ब्यक्ति वा पात्रलाई नङ्गाउनका लागि इतिहासको साहार लिएको नभएर अबको क्रान्तिको बाटो के होला ? यही बहसका लागि कम्युनिस्ट आन्दोलनलाई कोट्याउन गइरहेको छु ।
२००६ सालको क्रान्तिकारी नेतृत्व २०३५ सालमा पुष्पलालको मृत्युसँगै समाप्त भयो । अहिले जे जति कम्युनिस्ट समुहहरू छन्, मजुदुर किसान पार्टीलाई छाडि सबै झापा बिद्रोह र केन्द्रीय न्यूक्लियर्सबाट बनेका समुहहरू हुन् । अहिले पनि जनवादी वा बैज्ञानिक समाजवादी क्रान्ति गर्न आवस्यक छ भन्ने जे जति समुहहरू छन् सबै केन्द्रीय न्यूक्लियर्सबाट बनेका समुहहरू नै हुन । केन्द्रीय न्यूक्लियर्स देखिको इतिहास र नेतृत्वको भौतिकवादी तरिकाले अध्यायन नगरेसम्म सही निष्कर्षमा पुग्न सकिँदैन ।
केन्द्रीय न्यूक्लियर्स गद्दार पुष्पलाल भन्ने दस्ताबेजका आधारमा गठन भएको थियो । क. पुष्पलालले मार्क्सवाद लेलिनवाद माओ बिचारधारालाई पार्टीको पथपर्दर्शक सिद्धान्त मानेका थिए । नयाँ जनवादलाई न्युनतम कार्यक्रम किटान गरेका थिए । शस्त्र बलद्वारा मात्र नयाँ जनवादी क्रान्ति सफल गर्न सकिन्छ भनेका थिए । राष्ट्रियता र जनतन्त्र फरक फरक बिषय हुन्, राष्ट्रियता प्रमुख बिषय भएर आएको समयमा सबै राष्ट्रवादीहरू बीच संयुक्त मोर्चा गर्न सकिन्छ, जनतन्त्र प्रमुख बिषय भएको समयमा जनवादीहरूसँग कार्यगत एकता गर्नुपर्छ भनेका थिए । अहिले देशमा निर्दलीय पञ्चायती ब्यबस्थाले जनतन्त्रको घाँटी निमोठेको छ यस समयमा पञ्चायतकाबिरूद्ध सशस्त्र वा निशस्त्र रूपमा लडिरहेको नेपाली काङ्ग्रेससँग सम्युक्त मोर्चा गर्न सकिन्छ भन्ने थियो । दिशाबिहिन भएको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने क.पुष्पलाललाई गद्दार घोषणा गरी राजावादी मनमोहनलाई अध्यक्ष बनाएर केन्द्रीय न्यूक्लियर्स गठन गर्ने नेतृत्व पङ्क्तिका मोहनबिक्रक सिंह नेपाल कम्युनिस्ट पार्टी मसालका महासचिव छन् भने अर्का मोहन बैध्य ‘किरण’ क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव छन् । यिनीहरूले कहिल्यै गल्ति कमजोरी पनि गर्दैनन् आफुहरू बाहेक अरू कुनै क्रान्तिकारी हुनै सक्दैनन् भन्ने मान्यता राख्छन् । यिनीहरूको मान्यता गीतामा श्रीकृष्णले ‘मैले जे गर्छु अरूले त्यो गर्नु हुदैन, मैले जे भन्छु सबैले त्यही गर्नुपर्छ’ भन्ने छ । यसरी हेर्दा यिनीहरू आदर्शवादी पनि देखिन्छन् । केन्द्रीय न्यूक्लियर्सको चौथो महाधिबेशनका मूख्य नेतृत्वमा रहेका मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, निर्मल लामा, मोहन बैध्य ‘किरण’, भक्तबहादुर श्रेष्ठमध्ये निर्मल लामा र भक्तबहादुर श्रेष्ठको मृत्यु भैसकेको छ बाँकी तीन जना अझै मुख्य नेतृत्वमै छन् ।
चौथो महाधिबेशनको क्रान्ति र क्रान्तिका तत्कालिन समस्याहरू भन्ने दस्ताबेज खोजेर पढ्नुहोस् यिनीहरूको स्तर र नियत स्पस्ट हुन्छ । क. पुष्पलालको दस्ताबेजको बिरूद्ध अर्को दस्ताबेज निकाल्दा यो दस्ताबेज यस्तो बनेको थियो । नयाँ जनवादलाई अधिकतम कार्यक्रम भबिष्यको बिषय बनाइएको थियो, न्युनतम कार्यक्रम देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार किटान गरिएको थियो । पुष्पलाललाई गद्दार घोषणा गरेकाले मीत्र शक्ति मान्ने कुरा भएन । नौलो जनवादलाई कार्यनीति बनाएर सशस्त्र बिद्रोहमा गएको झापाली समुहलाई उग्रवादी करार गरेकाले यस समुहसँग पनि सहकार्य हुने कुरा भएन । बिस्तारवादी भारत र नेपाली काङ्ग्रेसलाई समान दुष्मन किटान गर्दा युद्ध यिनीहरूबिरूद्ध हुन्थ्यो, यसै सहकार्य हुने भएन । राष्ट्रियता र जनतन्त्रको लडाई समान रूपमा चलाउनु पर्छ यी दुई एक सिक्काका दुई पाटा हुन् भनिएको थियो । सम्युक्त मोर्चा आफ्ना जनबर्गीय संगठनहरूका बीच बनाउनुपर्छ भन्ने थियो । कुनै मार्क्सवादको क ख पढेको ब्यक्तिले पनि यस दस्ताबेजलाई कम्युनिस्ट दस्ताबेज भन्न सक्ने स्थिति थिएन तर यिनीहरका लागि गीता थियो । रूपमा जे भने पनि यो दस्ताबेजले सारमा पञ्चायत र राजालाई देशभक्त र आफुहरूलाई जनतन्त्रवादी देखाउन खोजिएको थियो ।
मोहनबिक्रमको यौनकाण्डदेखि यस पार्टीमा एकले अर्कोलाई कारबाही गर्ने क्रम सुरू भएको हो, यो क्रम अझै चलिरहेको छ । मोहनबिक्रममा कुनै सैद्धान्तिक गल्ति कसैले देखेका थिएनन्, यौनकाण्डलाई मानबीय कमजोरी भनिएको थियो । महाधिबेशनमा निर्मल लामाका केही भिन्न मत थिए । भिन्न मतलाई महाधिबेशनले किनारा लगाउनुको सट्टा पार्टीभित्र छलफल चलाउँदै जाने भनिएको थियो, यसको मतलव हुन्थ्यो पार्टीभित्र पार्टीनीति । मोहनबिक्रमलाई कारबाही भएपछि निर्मल लामा महासचिव भएका थिए । पार्टीको नजरमा लामाले दुई ठूला गल्ति गरे, एक क. पुष्पलाललाई श्रद्धञ्जली दिदै क. पुष्पलालको मृत्यु नेपाली कम्युनिस्ट आन्दोलनमा क्षति भन्ने लेख पार्टीको मुखपत्र मसालमा लेखे । फेरि २०३६ सालको आन्दोलनमा आवस्यक पर्यो भने हतियार उठाउनु पर्छ भन्ने लेख लेखे । त्यस समयमा मोहनबिक्रम कारबाहीमै थिए, मोहन बैध्यको समुहले लामालाई कारबाही गरि नेतृत्वबाट हटायो । मोहनबिक्रमको कारबाही फुकुवा गर्यो ।भक्तबहादुर श्रेष्ठ महसचिव बने । यही बीचमा शिबराज गौतमको नेतृत्वमा दाङ्गको सन्देश समुहले पार्टीको नीतिकार्यक्रम ठीक छैनन् भनेर भिन्न मत राख्यो । भिन्नमतमा छलफल गर्नुको सट्टा यो समुहलाई पार्टीबाट निष्काशन गरियो । भिन्नमत राख्ने आजादलाई पनि पार्टीबाट हटाइयो । भक्तबहादुरको गिरफ्तारीपछि लामा पक्षका यादव बन्धुहरूले पार्टी बैठक बहिस्कार गरेर गएपछि पार्टी बिघटन भयो । पार्टी गठन भएको ८ बर्षमा एकपछि अर्को सङ्घर्षको काम गर्नुको सट्टा एकपछि अर्को नेतालाई कारबाही गर्दै पार्टीबाट निकाल्दै गर्दा पार्टी नै बिगठन भयो ।
चित्रबहादुरको नेतृत्वमा पुनर्गठन भएको पार्टीमा पनि पार्टीको नीतिकार्यक्रममा केही अदलीबदलि भएन । पुनर्गठन गर्दा प्रचण्ड लगायत केही युवाहरू नेतृत्वमा पुगे । पाँचौ महाधिबेशनको मध्यपन्थी कमजोरी भन्ने दस्ताबेजमा चौथो महाधिबेशनका आधारभूत कुराहरू जस्ताका तेस्तै थिए । नारा फेरेर सत्ता जनतामा हस्तान्तरण गर् भन्ने थियो । यस दस्ताबेजको मुल सार पार्टी बिग्रनुमा मध्यपन्थी कमजोरी थियो भन्ने थियो । मोहन बैद्य, सी पी गजुरेल, प्रचण्ड, भक्तबहादुर श्रेष्ठ आदिले राजनैतिक सैद्धान्तिक बिषयमा केही परिबर्तन नगरि खाली शीर्ष नेतृत्वले ब्यक्तिगत गल्ति गर्ने र त्यसको ढाकछोप गर्ने प्रबृत्तिले गर्दा पार्टी बिग्रीयो भन्ने दस्ताबेज ल्याए । पाँचौ महाधिबेशनमा सख्याका हिसाबले मोहन बैद्य पक्षको बहुमत भएकाले बैद्य महासचिव भए । राजनैतिक दस्ताबेज चित्रबहादुरकै पास भयो । यसरी मोहन बैद्य प्राबिधिक रूपमा महासचिव बनेका थिए । उनले समग्र पार्टी एक बर्षसम्म पनि धान्न सकेनन्। मोहनबिक्रमहरूले मसाल पुनर्गठन गरेर गए । नेपाली कम्युनिस्ट आन्दोलनको ब्यक्तिवादी आयम दस्ताबेज निकाल्दै मोहनबिक्रम पक्षलाई कारबाही गर्ने काम भयो । यस समयसम्म पनि न्यूनतम कार्यक्रम नयाँजनवादसम्म पार्टीमा बनेको थिएन । सेक्टर काण्डमा बैद्य आफैले आफैलाई कारबाही गरी महासचिव पद प्रचण्डलाई बुझाएका थिए ।
२०४३ सालदेखि २०६९ सालसम्म प्रचण्डको नेतृत्वमा मुल पार्टी एकढिक्का रहिरह्यो । एकतामा आउने जानेको त्यति मतलव रहेन । पार्टीलाई सैद्धान्तिककरण गर्नु , जनवादी क्रान्तिको कार्यदिशा निर्धारण गर्नु, पार्टीलाई सैनिकिकरण गर्नु, एकता गर्नु, क्रान्ति बिरोधिहरूलाई पार्टीबाट हटाउनु, संसदमा भाग लिनु, संसद छाडेर सडक आन्दोलन गर्नु, संसदीय चुनाव बहिस्कार गर्दै जनयुद्धमा पार्टीलाई लानु जे जति कामहरू भए प्रचण्डकै नेतृत्वमा भए । जनयुद्धकालमा बरू बाबुराम चर्चामा थिए, मोहन बैद्यहरू गुननाम जस्तै थिए । क्रान्तिमा सैनिक शक्ति मूख्य हुने हुनाले बरू बादल लगायत पासाङ्ग, जनार्दन, अनन्त, बलदेब, सुदर्शन, बिप्लवहरू अग्रपङ्क्तिमा देखिएका थिए । राजनितिक रूपमा प्रचण्डको मत नै सर्बेसर्बा थियो । बैद्य लगायतका पुराना नेताहरूको काम प्रचण्डका लेखहरूमा सौन्दर्य भर्ने मात्र थियो । यदाकदा बाबुरामले उठाउने संसदीय मतका बिरूद्ध लड्नु मूख्य काम थियो । भनौ यिनीहरूलाई बाबुरामले काम दिएका थिए । प्रचण्डको मत अन्यका लागि ब्राम्हबाक्य जस्तै थिए । बिज्ञानले सबै कुरामा मनग्य सङ्का राख्दछ । प्रयोग गरेर परिणाम ननिस्किएसम्म सही हो भन्न सक्दैन । यी पुराना नेताहरूले प्रचण्डका मतहरूलाई द्वन्द्ववादी तरिकाले होइन अधिभूतवादी तरिकाले स्वीकार गर्थे ।
२०५७ को दोस्त्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डले नयाँ जनवादी कार्यदिशालाई स्थगित गरी गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको दस्ताबेज पेस गर्दा प्रचण्डबाट नयाँ बिचार आयो, यसलाई प्रचण्ड बिचार धारा भन्नूपर्छ भन्दै यसको सौन्दर्यको व्याख्या गर्ने क.किरण हुन् । प्रचण्ड स्वयम् आफैले बिचार धारा नभनौ प्रचण्डपथ भनौ भनेपछि यसलाई सैद्धान्तिककरण गर्ने किरण हुन् । प्रचण्डले २०५७ साल देखि नै संविधानसभाका माध्यमद्वारा संसदमा जाने स्पष्ट लाइन बनाएको देखिन्छ । दोस्त्रो राष्ट्रिय सम्मेलनको दस्ताबेज पढ्नुहोस् जनगणतन्त्रको त के गणतन्त्र शब्द समेत कतै उल्लेख छैन । १२ बुँदे समझदारीका आधारमा भएको जनआन्दोलनपछि भएको शान्ति सम्झौतामा पनि कसैको भिन्न मत छैन । यदि कुनै कालखण्डमा संसदमा जान पर्ने भयो भने मुख्य नेतृत्वका कमरेडहरू कोही पनि नजाने र दोस्त्रो वा तेस्त्रो स्तरका कमरेडहरूलाई संसदमा पठाएर निर्देशन नियन्त्रण गर्ने भन्ने पहिलाको निणर्यलाई धोती लागाउँदै क. किरण लगायत सबै संविधानसभा, संसदमा गएकै हुन् । पदको प्राबिधिक कारणले संसदबाट फिर्ता भएपछि क.किरणले पार्टीभित्र पार्टी चलाउने माग गरेका थिए । प्रचण्डले यो पनि स्वीकार गरेका थिए । क्रान्तिका बेला नेताहरूको ब्यबस्थापन गर्न सजिलो थियो । बहादुरहरू अघि सर्थे, काँतरहरू गुननाम भत्ता खाएर बस्थे । जब पार्टी सत्ता सरकारमा गयो सबैलाई संसद मन्त्री चाहियो । यसैबाट सिद्धान्तहरू निक्ले । यसरी निक्लेको सिद्धान्त थियो जनयुद्धको जगमा जनबिद्रोह । नत्र यो कहाँ गयो ?
प्रचण्ड पूर्णरूपमा संसदीय फाँटमा हाम फालेका थिए । हजारौ सहिद परिबार, बेपत्ता परिबार, सिबिरमा रहेका जनसेनाको ब्यबस्थापन, जनयुद्धका अपाङ्ग घाइतेहरूको चित्त बुझाउनु थियो । धेरै समस्याहरू थिए । यदि युद्ध चलाउने नीतिकार्यक्रम र इच्छा भएको भए सबै समस्याहरू युद्धबाटै समाधान हुन्थे तर प्रचण्डको संसदभन्दा बाहिर जाने संभावना थिएन । क.किरणको लहलहैमा लागेर सत्ता सरकार छाड्ने कुरा थिएन । सत्ता सरकार छाडेर युद्धमा जाने नीति क.किरणको पनि थिएन । क.किरणको एक मात्र नीति थियो जसरी पनि प्रचण्डको तेजोबध गर्ने । जीवनभर क.किरणले डा.बाबुराम भट्टराईलाई कहिल्यै क्रान्तिकारी देखेका थिएनन् । सधै सरकारमा बस्न चाहने बादल, देबप्रसाद गुरूङ्ग, आदिले पनि प्रचण्डलाई साइजमा ल्याउन क.किरणलाई साथ दिए । पार्टी भित्रको ठूलो क्रान्तिकारी पङ्क्ति पनि किरणको पछि लागेको थियो । यदि किरणले साँच्चै क्रान्ति चाहेको भए नयाँ नीति कार्यक्रम बनाएर क्रान्ति हाक्ने सम्भावना थियो । तर कुरा त्यो थिएन, जसरी भए पनि प्रचण्डसँग बदला लिनु थियो । प्रचण्डको बिकल्प बाबुरामलाई सिखण्डिका रूपमा अघि लगाएर प्रचण्डसँग लड्नु थियो । नारायण काजीको निवास धोबीघाटमा भोजभतेर सहितको भेला गरेर डा. बाबुरामलाई प्रधानमन्त्री बनाउने बादल, देब गुरूङ्ग, नारायण काजीहरूले मालदार मन्त्रालयहरू चलाउने निर्यण भयो । प्रचण्ड कर्नरमा परेपछि धोबीघाटको प्रचण्डको बिरोधमा भएको निणर्य अनुसार बाबुरामलाई प्रधानमन्त्री प्रचण्डले नै बनाए र अन्य षड्यन्त्रकारीहरूलाई मन्त्री मण्डलमा जानबाट रोकिदिए । यो क. किरणको कस्तो क्रान्तिकारी कदम हो ? पदलुलप्तहरूले क. किरणलाई उस्काएर नीति कार्यक्रममा कुनै परिबर्तन नगरिकन ड्यास माओवादी अर्को पार्टी पुनर्गठन गरे ।
जनसेना सरकारी सेना लगाएर बिघठन गरे । जनसेनाका मानिसहरूलाई राज्यका तर्फबाट रकम बितरण गरे, सहिद, बेपत्ता परिबारलाई राहत दिए। घाइते अपाङ्गहरूलाई राहत दिए । जनयुद्धको १२/१५ लाख मतको सुरक्षा गरे । अरूले जे जति आलोचना गरे पनि जनयुद्ध पीडितहरूलाई बेबारिसे बनाएर छाडेनन् । त्यसैले गर्दा सहिद परिबार पेपत्ता परिबार, घाइते अपाङ्गहरू अपवादलाई छाडि किरणको पछि लागेनन् । सातौ महाधिबेशनमा ए माओवादीको नीति कार्यक्रममा एक अक्षर पनि थपघट भएन साथै नेतृत्वमा केही फेरबदल भएन । दोस्त्रो संविधान सभाको चुनाव बहिस्कार गर्ने निणर्य भयो । बिप्लव सिलिण्डर बम पड्काउँदै हिडे, बैद्यले कोठामा बसेर प्रचण्डलाई हराउन किर्तिपुरमा काङ्ग्रेसको उमेदवार राजन केसीलाई भोट हाल्न हितमान लगायतका आफ्ना मानिसहरूलाई निर्देशन दिदै बसे । यस्तो क्रियाकलापबाट पार्टीभित्र असन्तोश पैदा भयो । बिप्लवहरूले असन्तोशका स्वरहरू निकाल्न थाले । बिप्लवलाई खुसी पार्न युवाहरूको नेतृत्व बिप्लवलाई दिए । बिप्लवले युवाहरूमा गुटबन्दी गर्दै पार्टीका युवाहरूमा आफ्नो पकड जमाए । पार्टीमा सत्ता साझेदारीको दस्ताबेज पेस गरे । किरणले विप्लवको दस्ताबेज पार्टीभित्र छलफल गर्न नदिए पछि २०७१ मा पार्टी पुनर्गठन गरेको दुई बर्षमा नै पार्टी फोडेर अर्को पार्टी बनाए । अब पार्टी एक किसिमले युबा बिहिन हुन गयो । अब प्रचण्ड लगायत सबैसँग पार्टी एकता गर्ने कुरा भयो । पार्टीका बैठकहरू हुन छाडे । क. किरणले पार्टी एकता गर्ने सम्पूर्ण अधिकार रामबहादुर थापा बादललाई दिएर पठाए ।
सबभन्दा पहिला मोहनबिक्रमसँगबाट निस्केर नेपाल कम्युनिस्ट पार्टी एकिकृतको नाममा रहेको परि थापाको नेतृत्वको पार्टीसँग सर्त सहित एकता भयो । किरणको जनयुद्धको जगमा जनबिद्रोहले यही एकतामा हावा खायो । यो समुहको मोहनबिक्रमको मसालसँग सैद्धान्तिक अन्तर थिएन खालि मोहनबिक्रको सैलीको बिरोध थियो । जनयुद्ध कालमा बाहिर माओवादीलाई ‘नोसुराक नोखुराक’ नारा थियो । नेपाल कम्युनिस्ट पार्टी मसालले माओवादी जनयुद्धलाई आतङ्कारी करार गरेको थियो । आतङ्कवाद क्रान्तिको शत्रु हुन्थ्यो । भित्री रूपमा आतङ्कवादसँग लड्न प्रतिकार समितिहरू बनाएको कुरा सुनिन्थ्यो । यो काम मसालमा रामसिंहको नेतृत्व छदासम्म जोडतोडले चलेको थियो । नारायणकाजीको एकता केन्द्रसँग मसालको एकता भएपछि यो क्रम रोकिएको थियो । रामसिंहहरूसँग एकता गर्दा माओवाद छाडेर माओ बिचारधारा पनि मान्ने, क्रान्तिको स्वरूप सहरी बिद्रोह हुने, बिगतको माओवादी जनयुद्धलाई मसालको पुरानो मान्यता अनुसार आतङ्कवाद थियो भनेर बहस गर्न पाइने आदि सर्तमा एकता भएर नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) भयो । अब ड्यास माओवादीको कुनै मूलमान्यताहरू बाँकी रहेनन् । अहिलेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको जुन नीति कार्यक्रम छन् , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत ) सँग रामबहादुर थापा बादलले गरेका सम्झौताका पत्र मात्र छन् ।
पार्टी एकताका लागि सर्वाधिकार पाएका बादलले प्रचण्डसँग बिनासर्त एकता गर्ने सम्झौता गरेर आए । यसमा क. किरणको खासै बिमति थिएन तर रामसिंहहरूको घोर बिरोध रह्यो । क. किरण बीचमा परे र अन्ततः रामसिंह पक्षतर्फ लागे । बादलले पार्टीमा बहुमत बनाएर क. किरणलाई अध्यक्षबाट हटाएर आफै अध्यक्ष भए । पार्टीमा बहुमत भएपछि आफ्नै अध्यक्षतामा बैठक गरी बिधिवत रूपमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) लाई प्रचण्डको माओवादी पार्टीमा बिलय गराए । रामसिंह पक्षका एक जना मानिस पनि बादलको पछि गएन । बैद्यलाई छाड्न नसकेका केही पूर्व माओवादी र एकिकृतको सोलोडोलो गरी फेरि पार्टी पुनर्गठन भयो । पार्टीको नाम क्रान्तिकारी माओवादी नै राखियो । प्राबिधिक अध्यक्ष क.किरण नै रहे ।
२०७४ मा पोखरामा राष्ट्रिय सम्मेलनको आयोजना भयो । अध्यक्षको हैसियतले सम्मेलनमा क.किरणले राजनैतिक दस्ताबेज पेस गरे । उनको दस्ताबेजमा निकट भबिष्यमा हुन गैरहेको संघीय संसदको चुनाव बहिस्कार गर्ने नीतिकार्यक्रम थियो । रामसिंह श्रीसले चुनावमा भाग लिनुपर्छ, बिगतको जनयुद्ध ब्लाङ्कीवादी उग्रबादी भड्काव थियो, यसको मूल्याङ्कन गरेर अबको कार्यदिशा निर्धारण गरेर अघि बढ्नु पर्छ, माओवादीले उठाउँदै आएको समाबेशी समानुपातिक, जातीय सवालहरू खारेज गरेर जानू पर्छ भन्ने छुट्टै प्रस्ताव पेस गरे । एक किसिमले केन्द्रीय समितिमा रामसिंह श्रीसको बहुमत जस्तै थियो । तर हलमा क.किरणको पक्षमा अत्यधिक बहुमत थियो । सचिवालय बैठकमा निकै चर्काचर्की बहसहरू भए । पूर्ब माओवादीबाट आएका सदस्यहरू र सल्लाहाकार सदस्यहरूले किरणको पक्षमा घमासान बहस गरे । अन्तमा हलमा जाने, हलले जे निणर्य गर्छ भन्दै बैठक टुङ्गियो । हलमा पनि बहसहरू भए । रामसिंह श्रीसहरूले पार्टी फोड्ने धम्कि क.किरणलाई दिएछन् । किरण र रामसिंह श्रीसहरूबीच किरणले संघीय संसदको चुनावमा भाग लिने गरी दस्ताबेज परिमार्जन गर्ने रामसिंह श्रीसले तत्कालको लागि आफ्नो दस्ताबेज स्थगित गर्ने सम्झौता गरेछन् । क.किरणले पुरानो केन्द्रीय समितिको छुट्टै बैठक राखि पार्टी जोगाउन बिबिध सिमा र बाध्यताहरू आए, अझ एक पटकका लागि मेरो अनुरोध सबैले मानिदिन पर्यो, संदीय संसदमा भाग लिन पर्ने भयो, सबै केन्द्रीय सदस्यहरूले हललाई चुनावमा भाग लिनका लागि सहमत गराइ दिनु पर्यो भनेर अनुरोध गरे अथवा आफ्नो प्रस्तावको बिपक्षमा भोट मागे । क.किरण ? यो कुन मार्क्सवादी सिद्धान्त भित्र पर्छ र तिमी सधै कान्तिकारी भैरहने अरू दक्षिणपन्थी हुने ? एक किसिमले राष्ट्रिय सम्मेलन यत्तिकैमा सकियो । चुनावमा भाग लिएर १४ हजार मत मात्र आएपछि पार्टीको हालत के भयो ? ।
गतबर्ष बैसाखमा नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) सँग पार्टी एकता गर्दा अशोक शर्माहरूले पार्टी छाडेर गए, उनीहरूलाई कारबाही भयो । केही समय पहिला नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग पार्टी एकता भएपछि पूणर्बहादुर सिंहहरूले पार्टी छोडेर गए उनीलाई कारबाही भयो । हालै कञ्चनको नेतृत्वमा नेलाल कम्युनिस्ट पार्टी (बहुमतले )ले एकता असफल भयो, एकता भङ्ग भयो भन्दै बाहिरीयो यो समुहलाई पनि दक्षिणपन्थी करार गर्दै कारबाही भएको विज्ञप्ति आयो ।
बाह्रबर्ष पछि हुन लागेको महाधिबेशनमा समानन्तर अर्को दस्ताबेज आएमा बहस छलफल गर्ने हो । क. किरणको दस्ताबेजका बिरूद्ध २७ वटा पुरक प्रस्ताव र क. कञ्चनले भिन्न अर्को दस्ताबेज पेस गरेको सुनिन्थ्यो । क.किरणले आफ्नो दस्ताबेजमा पुरक फरक प्रस्तावहरू समाबेस गरी दस्ताबेज बनाएर तल छलफलका लागि लाने तर क.कञ्चनको दस्ताबेज एउटैमा समाबेस गर्न नसकिने निणर्य भ पछि कञ्चन पक्ष बाहिरिएको हो भनिन्छ । बाहिरिसकेपछि कारबाही के का लागि हो ?।
ठीक बेठीक आफ्नो ठाउँमा होला रामसिंह सन्तबहादुरहरू आफ्नो मतमा अडिक छन् । उनीहरूले देश अर्धसामन्त र अर्थउपनेबिशिक अवस्थामा छ भन्दछन् । अब हुने क्रान्ति जनवादी पूजीवादी क्रान्ति हो भन्छन् । माओका बिचारलाई सार्वभौम मान्दैनन् त्यसैले गर्दा माओवाद स्वीकार गर्दैनन् । माओवादको नाममा भएको जनयुद्धलाई माओवाद नमान्नेहरूले मान्ने कुरा भएन । जातीय क्षेत्रिय, समानुपातिक समावेशी आदि नाराहरू माओवादी जनयुद्धका भएकाले उनीहरूलाई मान्य छैनन् । संघीयताको कट्टर बिरोध गर्छन् । सहरी बिद्रोह बाहेक अन्य क्रान्तिका मोडेलहरू स्वीकार गर्दैनन् । उनीहरूले आफ्नै लाइन अनुसार अघि बढ्न चाहन्छन् । क. किरणको लाइन के हो ? । क. किरणको लाइन भनेको सबैका मतहरूलाई सारसंग्रह गरी नेता हुने हो ।
द्वन्द्ववादले सबै बस्तुहरू परिबर्तन भइरहन्छन् भन्छ । पुरानो स्थानमा नयाँ बस्तुहरूको निर्माण हुँदै पुरानो नष्ट र नयाँ निर्माण यो चक्र चलिरहन्छ । यसैलाई निषेधको निषेध भनिन्छ । जब मानिसहरू समयको गति अनुसार परिबर्तन हुन सक्दैन उ जानी नजानी आदर्शवादी बन्न पुग्छ । उसले द्वन्द्ववादी सम्बन्धका ठाउँमा उदारवादी सम्बन्ध अपनाउन थाल्दछ । बिचार सिद्धान्तमा मिलोस् नमिलोस् पुरानो साथी पुरानो चिनजान पुरानो सम्बन्धलाई बढी प्राथमिकता दिन थाल्दछ । अहिले क. किरण २०३४/२०३५ सालका आफ्ना पुराना साथीहरू समेट्नतिर लागेको देखिन्छ, किनकी उनीहरूले किरणलाई बुझेका छन् भने किरणले उनीहरूलाई बुझेका छन् । यस्तै देखेर त मार्क्सले लुई बोनापार्टको अठारौं ब्रुमेर लेखेका थिए होलान् । बिगतको गौरवले क्रान्ति हुदैन । नयाँमा जोड दिनुपर्छ । उदारवादले आदर्शवादमा पुराउँछ । मार्क्सवादमा पोप हुदैन । जसरी पोपले जस्तोसुकै पाखण्डी भए पनि आफ्ना भक्तहरूलाई बिपस पाश्चरका पदहरू दिदै जाने र जति योग्य भए पनि अन्यलाई सैतान भन्ने जस्तो मार्क्सवाद मान्नेहरूले गर्न हुदैन । आफ्ना अन्धभक्तहरू सबैलाई क्रान्तिकारी देख्ने र भिन्नमत राख्नेलाई दक्षिणपन्थी देख्ने आदर्शवाद मार्क्सवादीहरूले लिनु हुदैन ।
नेपालमा कम्युनिस्ट जनमतको बाहुल्यता छ । हामी पचासौ बर्ष कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले त कति बुझ्यौ, जुन हाम्रा गतिबिधिले देखाइरहेको छ । आम जनताले अझ कति बुझेका होलान्, यत्ति सबै्ले बुझेका छन्, कम्युनिस्टले एकले अर्कामाथि गर्ने शोषण दमनको अन्त गरिदिन्छ । जनतामा आसा छ जुन कम्युनिस्ट समूह सरकारमा जान्छ तत्काल केही गरिदेला । त्यसैले गर्दा ठूलो सङ्ख्या एमालेमा छ । त्यसपछि माओवादी केन्द्रमा छ । सानो सङ्ख्या संसद बाहिरहेका पार्टीहरूसँग छ । एमाले, माओवादी केन्द्र आदि संसदीय कम्युनिस्टका बारेमा अहिले सबै जानकार छन् । पछिल्लो चरणमा महापतन किताब लेख्दै एकीकृत जनक्रान्ति गर्न हिडेका बिप्लव आफ्न सहिद, घाइते , जेल जीवन बिताइरहेकाहरूलाई बेवारिसे रूपमा छाडि आर्थिक क्रान्तिमा लागेका छन् । बर्गसङ्घर्ष होइन सबैसँग मिलेर नेपालको बिशेषताको समाजवाद ल्याउने भन्छन् । बिप्लवले सबैलाई उछिनेर अब मार्क्सवाद, द्वन्द्वात्मक भौतिकवाद, बर्गसङ्घर्षको नीतिले काम गर्न सक्दैन भन्दै मार्क्सवाद नै खारेज गरिदिएका छन् । जमिन्दारहरूका बाँझा जग्गाजमिनहरू भाडामा लिएर आफ्ना नेताकार्यकर्ताहरूलाई काम दिएका छन् ।अहिलेसम्म कम्युनिस्टहरूले भन्दै आएको सामन्तहरूको जग्गा कब्जा गर्ने नारालाई खारेज गर्दै भाडामा लिएर खेति गरेर धनी भएर पुँजीपतिसँग प्रतिस्पर्दा गर्ने नीति बनाएका छन् । यो संसदीय ब्यबस्था असफल भयो, हामीलाई भोट दिएर हेर हामी कस्तो ब्यबस्था ल्याइदिन्छौ भन्दै संसदीय चुनावमा रणनीतिक रूपमा भाग लिने निणर्य गरेका छन् । यिनका बारेमा पनि टाउको दुखाउनु पर्ने भएन ।
अहिले संसदीय ब्यबस्थालाई स्वीकार नगर्ने क.कञ्चनको समूह, पूणर्सिंहको समूह, अंगुर अमिलो छ भनेर संसद छाडेको किरणको समूह आदि न्यून सङ्ख्यामा छन् । यिनीहरू बीच बलियो एकता गरेर जानुको सट्टा एकले अर्कालाई कारबाही गरेको देखिन्छ । क. कञ्चन नेपालका लागि मार्क्स हुन्, लेनिन हुन्, माओ हुन्, भन्ने मेरो भनाई होइन, भोलि के गर्छन् त्यो गर्भकै कुरा भयो । अहिले त उनका नीतिकार्यक्रम समेत बाहिर आएका छैनन् । उनी दक्षिणपन्थी हुन् भन्ने ज्ञान काहाँबाट आयो ? कमसेकम संसदीय ब्यबस्थालाई नमान्नेहरूबीच पानी बराबार गर्न आवस्यक छैन । क्रान्तिकारीहरू ध्रुबीकृत भएर क्रान्ति थाल्ने भन्ने होइन । यदि सही नीतिकार्यक्रमका साथ सानै समुहले क्रान्तिको थालनी गर्यो भने क्रान्तिकारीहरू त्यहाँ गोलबन्ध हुन्छन् । यो बिगतको माओवादी जनयुद्धमा प्रमाणित भएको कुरा हो । एकले अर्कोलाई धारेहात लगाएर क्रान्ति हुदैन । जोसँग आँट सामर्थ्य छ उसले क्रान्तिको सुरूवात गरौ । नयाँ आउनहरूलाई रोक्ने काम नगरौं ।
प्रतिक्रिया