• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी निर्वाचित, ८ जनाको जमानत जफत

    845
    SHARES



    काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यको सिट सुरक्षित गरेका हुन् ।

    एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सिंह ११ हजार ३४३ मा सीमित रहे । भण्डारी र सिंहको मतान्तर २६६ मात्र रहेको छ ।

    २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ ।

    उपनिर्वाचनको मुखमा बुबा गमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी ०६२ सालमा राष्ट्रिय युवा संघ नेपाल अञ्चल कमिटी सचिव बनेका थिए ।

    २०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल बझाङ एमाले अध्यक्ष समेत रहेका छन् । यो उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकाङ्क्षी ६ जनाबिच मतदान गराउँदा भण्डारी सबैभन्दा धेरै ९४ मत प्राप्त गरेका थिए ।

    ८ जना उम्मेदवारको जमानत जफत

    उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।

    जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो । उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए ।

    निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’

    तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ