• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    कबिता: सपना देख्ने कुरा वारे !

    16.8K
    SHARES

    बलराम तिमिल्सिना, कबिता- सपना देख्ने कुरा वारे !
    **********
    सपना नदेख्ने मान्छे हुदैन
    हरेक मानिसले सपना देख्छ
    तर सपना मात्र भनेर नहुने रहेछ
    मान्छेलाई सपार्ने र बिगार्ने
    चोर बनाउने या सज्जन बनाउने
    नायक या खलनायक बनाउने
    सबै सपनाको खेल रहेछ ।

    सपनाको जरा
    जोडिएन भने जिन्दगीसँग
    जिन्दगीकै जरा उखेल्ने रहेछ सपनाले
    जब सपना आकासबेली बन्छ
    आफू बसेको घर नै खान थाल्ने रहेछ सपनाले ।

    महाजन र मजदूरको छोराले
    एउटै आशनमा बसेर
    एकै समयमा
    एउटै सपना देख्न असंभव रहेछ ।

    भ्रष्ट हाकिम र मजदूरकी स्वास्नीले
    एउटै टेबुलमा बसेर
    एकै समयमा
    साझा सपना देख्न नमिल्ने रहेछ ।

    सपनाको जराले
    यथार्थको जमीन टेकेन भने
    दूर्घटना निम्त्याउने रहेछ
    रोई रोई हिड्ने बनाउने रहेछ ।

    संसारमा जति मानिसहरू पागल बनेका छन
    जति मानिस अवसादको शिकार बनेका छन
    जति मानिसहरू हत्या या आत्म हत्यामा संलग्न छन
    त्यो सबै दूर्घटना
    सपना देख्न नजानेर हो रहेछ ।

    महाजनले दु:ख कष्टको सपना
    मजदूरले भोग विलासको सपना
    धनीले त्याग तपस्याको सपना
    र गरीवले ऐश आरामको सपना देखे भने
    तपाई बुझ्नुस –
    एउटा ठूलो दुर्घटना अनिवार्य छ ।

    मानिसहरू भन्ने गर्छन-
    ‘विपनामा त भोग्न पाइएन पाइएन
    सपना समेत देख्न नपाउनु ?

    मेरो विनम्र अनुरोध छ
    सपना देख्न गज्जवले पाइन्छ
    सपना त देख्नै पर्छ
    तर सपना देख्दा ख्याल पनि गर्नु पर्छ
    तपाईले देखेको सपनाले
    तपाईलाई कैद‌ हैन स्वतन्त्रता दिनु पर्छ
    तपाईले देखेको सपनाले
    तपाईलाई आँशु होइन मुस्कान दिनु पर्छ
    तपाईले देखेको सपनाले
    तपाईलाई मृत्यु होइन जीवन दिनु पर्छ
    पलायन होइन उर्जा
    अन्धकार होइन उज्यालो दिनु पर्छ
    घनचक्कर होइन गन्तव्य दिनु पर्छ ।

    प्रिय साथी !
    तपाई कस्ता सपना देख्दै हुनुहुन्छ
    के तपाईले देखेका सपनाका जरा
    तपाईले बाँचेको जीबनको यथार्थमा छन ?

    २०८० असोज १९
    सिनामंगल,  काठमाडौँ 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ