• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छोराछोरी बचाउन गएका बुवा आफु पनि फर्केर आउन सकेनन्, यसरी भयो ५ जनाको एकै….

    3.6K
    SHARES



    दाङ । जिल्लाको तुलसीपुर उपमहानगर भए पनि सम्साँझै सुनसान हुन्छ। हिउँदे वर्षाले चिसिएको तुलसीपुरका बासिन्दा बिहीबार साँझ घरभित्र पसिसेका थिए। रात छिप्पिँदै जाँदा लामो दूरीका बस र ढुवानीका सामान बोक्नेबाहेक अरू सवारी साधन सडकमा थिएनन्। प्राय: रात यसरी नै बित्ने तुलसीपुरमा बिहीबार मध्यरातिपछि भने हो-हल्ला भयो।

    तुलसीपुर-५ ‘ङ’ लाइनको घरमा सुतिरहेका ४० वर्षीय नगरदिन अली राति करिब १ बजेतिर ब्युझिएँ। धुँवाको गन्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर निस्किए। घरमा ठूलो धुँवाको मुस्लो देखेपछि उनी सँगै सुतेकी श्रीमती र आफ्नो बुवालाई लिएर सडकमा आए।

    आगो नदेखिए पनि धुँवा व्यापक भइसकेको थियो। उनका छोराछोरी त्यही घरमा सुतिरहेका थिए। ५ वर्षीय छोरा अबिददिन अली र १३ वर्षीया छोरी सुजिता खातुनलाई लिन नगरदिन फेरि घरभित्र पसे।

    नगरदिन र उनकी श्रीमती घरको अगाडि र बच्चाबच्ची पछाडि अन्तिम कोठामा सुत्ने गर्दथे। पाँच मिटरमा ठडिएको घरमा पछाडि न कुनै निकास थियो न कुनै झ्याल। साँघुरो घरभित्र जुत्ता-चप्पलको गोदाम राखिएको थियो। आगो त्यही गोदाममा लागेको थियो।

    छोराछोरी बचाउन गएका नगरदिन धुँवामा निसास्सिएर बाटो मै लडे। नगरदिन फर्किएनन्। छिमेकीहरू कराउन थाले। प्रहरीलाई खबर भयो, मध्यरातमा साइरन बजाउँदै दमकल गुड्न थाले। मध्यरातमा आइलागेको आपतले तुलसीपुरवासी ब्युँझिए र घटनास्थलमा पुगे।

    आगलागी भएको बजार क्षेत्रमा पानीका कुनै मुहान थिएनन्। नजिकै अरनीको मैदान नजिकै खानेपानीको कार्यालय छ। तुलसीपुरको प्यास पहाडी भूभागका मुलकोट, बाख्रे, छरछरेजस्ता मुहानले मेट्ने गर्छन। स्थायी पानीको स्रोत छैन। खहरे खोला थुप्रै भए पनि पुस-माघमा ती बगरमा बनिसक्छन्। मध्यरातमा आपत पर्दा दमकल, सेना, प्रहरीका गाडी खाली सडक भए पनि एकहोरो साइरन बजाउँदै डिप बोरिङ भएका क्षेत्रतर्फ दौडिए।

    तुलसीपुर ६ रजौरा र गोलौराको सीमानामा लक्सरै ५ वटा जति पानी बेच्ने डिप बोरिङ छन्। झन्डै २०/२५ मिनेट साइरन बजाउँदा पनि वारूण यन्त्रले पानी भर्न सकेन। किनकी आगलागी पछि तुलसीपुरको विद्युत काटिएको थियो। विद्युतबिना पानी भर्न सम्भव भएन। अरू गाडी तुलसीपुर एयरपोर्टको राप्ती राजमार्ग हुँदै ग्वारखोला र बबईतर्फ हुइँकिरहेका थिए।

    केही उपाए नचलेपछि रातिमा खानेपानीको कार्यालय खोलेर त्यहीबाट वारूण यन्त्रले पानी भरे। करिब पाँच घन्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आयो। त्यतिबेलासम्म नगरदिनसहित उनका दुई जना छोराछोरी र अन्य दुई बालकको ज्यान गइसकेको थियो।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार नगरदिनको शव बिहान ७ बजेपछि बाथरूममा फेला पर्‍यो। नगरदिनको पुर्ख्यौली घर अर्घाखाँची भए पनि लामो समयदेखि उनीहरू तुलसीपुरमा भाडामा बस्दै आएका थिए।

    सुर्खेत घर भई अहिले तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ को तुलसी बोर्डिङ चोक नजिकैको रोडमा बस्दै आएका दाजुभाइ १६ वर्षीय मसिन बकस र १४ वर्षीय हसन बकसको पनि धुँवामा निसास्सिएर मृत्यु भएको छ। उनीहरूकी आमा भने बाँच्न सफल भएकी छन्।

    डिएसपी अर्यालका अनुसार शुक्रबार बिहान ७ बजेतिर पनि उक्त घरमा प्रवेश गर्न सम्भव भएन। त्यहाँ धुँवाको मुस्लो आइरहेको थियो। रातभरको आगोले रनक्क तातेको घर जलिरहेको थियो। त्यसपछि प्रहरीले सटेको घरको भित्ता फोडेरै तीन जनाको शव निकालेको डिएसपी अर्यालले बताए। प्रहरीले अरू शव पनि आसपासका घरको छत हुँदै निकालेको उनले जानकारी दिए।

    सोही पसलमा काम गर्ने तुसलीपुर-९ दोघरेका ४५ सुकलाल बस्नेत भाग्यले जोगिए। उनी मस्त सुतिरहेको समयमा कसैले तानेर आगलागी भएको भन्दै ब्युँझाए। बस्नेतका अनुसार उनीसहित ६ जना राति अर्को घरको छतबाट ओर्लिन सफल भएका हुन।

    विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागी भएको घरमा जुत्ता-चप्पलको गोदाम थियो। ११ हातको जग्गामा पाँच तलाको घर बनाउनु, त्यसैमा गोदाम राख्नु, गोदाम भएकै घरमा मानिस पनि बस्नुजस्ता कारणले जुत्ता-चप्पलको आगो रातभर प्रयास गर्दा पनि निभाउन सम्भव नभएको प्रहरीले बताएको छ।

    आगो निभाउन २४ किलोमिटर टाढाको घोराहीबाट पनि वारूण यन्त्र मागिएको थियो। स्मार्ट भनिने सिटीमा विपतको समयको पूर्वतयारी नभएका कारणले पाँच जनाले ज्यान गुमाउनु परेको तुलसीपुरवासीको बुझाइ छ। मृतक सबैको निसास्सिएरै मृत्यु भएको प्रहरीको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ