• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    क्रान्तिकारी पत्रकार संगठनद्वारा काठमाडाैंमा बृहत अन्तरक्रिया सम्पन्न, वक्ताहरुले के भने ?

    5.1K
    SHARES

    काठमाडौँ । क्रान्तिकारी पत्रकार संगठन नेपालले ‘वर्तमान राजनीतिक संकटको कारण व्यवस्था कि शासक’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडाैंकाे संवाद डबलीमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रमका अधिकांश बक्ताहरुले अहिलेको राजनीतिक संकटमा व्यवस्था प्रमुख रहेको बताएका छन् । उनीहरुले संसदीय व्यवस्थामा देखिएको संकट व्यक्तिमार्फत व्यक्त भएको बताए ।

    नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले ओलीले संविधानमा नभएकै धारामा टेकेर संसद विघटन गरेको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वास प्रस्ताव पेश गर्ने भइसकेपछि प्रधानमन्त्री पद जोगाउन ओलीले जबरजस्तीको धारा बनाएर संसद विघटन गरेको बताए ।

    नेता गजुरेलले पुस पाँच गतेभन्दा अगाडि यही संसदबाट कायापलट हुने बताउँदै आएका नेताहरु नै अहिले आन्दोलन अपरिहार्य भएको भन्दै सडकमा आएको बताए । नेता गजुरेलले व्यवस्थाको प्रतिगमनलाई अग्रगमनले मात्रै परास्त गर्न सक्ने बताए । यथास्थितिमा संसद पुनः स्थापन गरेर परिवर्तन नहुने भन्दै गजुरेलले अग्रगामी शान्तिपूर्ण निकासको लागि छलफल गर्न सबै तयार हुनुपर्ने बताए ।

    नेपालको राजनीतिक बाह्य शक्तिको हातमा गइसकेको बताउँदै प्रधानमन्त्री ओलीले चुनाव गर्न नसक्ने दाबी गरे । “यही संसद् र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा आएका छन् । अहिले भन्दैछन्, आन्दोलन विकल्प छैन, पाँच गतेभन्दा अगाडिसम्म यही संसद र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा छन्, अब नयाँ ढंगले नसोँचे उनीहरुको आन्दोलन टुंगोमा पुग्दैन” गजुरेलले भने ।

    ओलीले आफू फेरि पनि प्रधानमन्त्री हुनलाई ताजा जनादेश भनेको बताउँदै अहिलेकै व्यवस्थामा जो आएपनि जनताका समस्या हल नहुने बताए । यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली खराब भएकोले अहिलेको राजनीतिक संकट पैदा भएको बताएका छन् ।

    पाण्डेले व्यक्ति र व्यवस्था एक अर्काका परिपूरक भएको बताउँदै व्यक्तिका कारण ठूलाठूला परिवर्तन र प्रतिगमन समेत भएको बताए । पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले प्रधानमन्त्री ओली खराब पात्र भएकोले संविधानमाथि नै धावा बोलेर प्रतिगामी यात्रा सुरु गरेको बताए ।

    त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्ता स्वार्थको लागि (नेकपा)का दुबै पक्ष लागेको बताए । उनले कुर्सी बचाउन ओलीले संसद् विघटन गरेको र कुर्सीकै लागि प्रचण्ड–माधव कुमार नेपाल सडकमा निस्किएको आरोप लगाए ।

    “यो कुर्सीको लागि भइरहेको छ । बाँडीचुडी खाने बेलासम्म दुबै समूह तैचुपमैचुप थिए तर ओलीले आफूले मात्रै खान थालेपछि विवाद सुरु भएको हो” कट्टेलले भने । उनले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था भएको बताउँदै त्यसको लागि संघर्ष गर्नुपर्ने बेला आएको बताए ।

    वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्भक्त दुलाल ‘आहुती’ व्यवस्थामा आएको संकट व्यक्तमार्फत अभिव्यक्त भएको भन्दै संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताए । संसद् विघटन जनताको लागि नभएर प्रचण्ड–माधव कुमार नेपालहरुको लागि भएको र जनताको लागि कुनै संकट नभएको बताए ।

    संयोजक आहुतीले संसदीय व्यवस्थामा जनता जहिले पनि संकटमै रहेको बताउँदै यसको विकल्पमा नयाँ व्यवस्था स्थापना नभएसम्म यस्तै भइरहने बताए । नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले संसदीय व्यवस्था नभएर केपी ओली खराब भएका कारण अहिलेको राजनीतिक संकट देखा परेको बताए । उनले शासन गर्ने व्यक्ति खराब भएकै कारण संसदीय व्यवस्थामाथि प्रश्न उठेको र जनताले दुःख पाएको बताए ।

    संविधान बन्न नदिने र संविधान बनेपछि गृहमन्त्री बन्ने बादल प्रवृतिका कारण देश र जनताले दुःख पाइरहेको खतिवडाले बताए । भ्रष्टाचार र कमिसनमा कुरा नमिलेकै कारण (नेकपा) भित्र विवाद सुरु भएको आरोप समेत खतिवडाले लगाए ।

    प्रा.डा. सुरेन्द्र केसीले परिवर्तनको नेताहरुले दुरुपयोग गरेकोले देश र जनताले दुःख पाइरहेको बताए । नेपालमा व्यवस्था भन्दा नेता बढी दोषी रहेको बताए । नेताहरुका आचरणकै कारण जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताए ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुसील’ ले संसद पुनर्स्थापना र चुनाव अबको निकास नभएको भन्दै राजनीतिक जनपरामर्श सम्मेलन गर्नुपर्ने बताए । यसमा संसदभित्र रहेका र नेकपा महासचिव विप्लव पनि सहभागी भएर नयाँ निकासको लागि छलफल गर्नुपर्ने बताए ।

    जनयुद्ध र जनआन्दोलनमा गरेको बलिदानले आएको परिवर्तनलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गरेकोले समस्या भएको बताएका छन् । नेताहरुका कारण पार्टीहरु विभाजित हुने गरेको बताउँदै शुसीलले नयाँ प्रणालीमा विकास गर्नुपर्ने बताए ।

    संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था हुने बताउँदै त्यसको लागि जति ठूलो बलिदान गर्न फेरि जनता तयार हुने बताए । लेखक तथा राजनीतिक विश्लेषक कुमार शाहले अरुले लादेको विषय मात्रै अंगाल्दा समस्या देखिएको भन्दै नयाँ बहस र छलफल गर्नुपर्ने धारणा राखे । संसद् पुनःस्थापना र चुनावमा गएपनि एउटै भएको हुनाले व्यवस्थामा कहाँ कमजोरी रहे भन्नेमा छलफल गर्नुपर्ने बताए । उनले संसदीय व्यवस्थामा व्यक्तिवाद हावि हुने गरेको बताए ।

    कार्यक्रममा पत्रकार कमल बुढाले अहिलेको राजनीतिक संकट व्यवस्थाका कारण निम्तिएको बताउँदै त्यसको विकल्प खोज्न दलहरुलाई सुझाव दिए । कार्यक्रमको अध्यक्षता संगठनका उपाध्यक्ष जन्मदेव जैसीले गरेका थिए भने सञ्चालन महासचिव बाबुराम भुसालले गरेका थिए । क्रान्तिकारी पत्रकार संगठनले बिगतदेखि नै निरन्तररुपमा यस्ता बृहत अन्तरक्रिया गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ