काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजे मात्र सुरू गर्न लागिएको जानकारी बताए ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ ।
प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया