• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    जीवनशैली टिप्स

    लामो समयसम्म एउटै ठाउँमा बस्दा बढ्न सक्छ यी रोगहरूको जोखिम

    343
    SHARES



    काठमाडौं। इमेलको जवाफ दिनेदेखि भिडियो कल लिनुसम्म सम्म कार्यालयका अधिकांश कर्मचारी दिनभर कुर्सीमै बसेर काम गर्छन्। तर विशेषज्ञहरूका अनुसार लामो समयसम्म लगातार बसिरहने बानीले मोटोपना, मुटुरोग र दोस्रो प्रकारको मधुमेहको जोखिम बढाउन सक्छ।

    यही विषयमा गरिएको नयाँ अध्ययनले कार्यालयमा काम गर्ने व्यक्तिहरूलाई हरेक घण्टा कम्तीमा पाँच मिनेट हिँड्न सुझाव दिएको छ। ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित अध्ययनले यस्तो छोटो पैदल हिँडाइलाई ‘मुभमेन्ट स्न्याक’ नाम दिएको छ।

    अनुसन्धानका प्रमुख लेखक किथ डियाजका अनुसार अहिले अधिकांश मानिसले निद्राबाट उठेपछि दिनको करिब तीन चौथाइ समय बसेर बिताउने गर्छन्। उनले “कम बस्ने र बढी हिँड्ने” बानी अपनाउन सुझाव दिँदै भने, “हरेक घण्टा पाँच मिनेट हिँड्दा मनोभावमा सुधार आउँछ, थकान घट्छ र मानिसहरूले यो सुझावलाई दैनिक जीवनमा सहज रूपमा अपनाउन सक्ने पाएका छन्।”

    ११ हजारभन्दा बढी कर्मचारीमाथि अध्ययन

    कोलम्बिया विश्वविद्यालयले गरेको अध्ययनमा अमेरिकाका ११ हजारभन्दा बढी कर्मचारी सहभागी थिए। तीमध्ये अधिकांश कार्यालयमा आठदेखि नौ घण्टासम्म काम गर्ने कर्मचारी थिए। अध्ययनको पहिलो सातामा सहभागीहरूले आफ्नो नियमित कार्यतालिका कायम राखे। उनीहरूले दैनिक रूपमा आफ्नो थकान, मनोभाव र कार्यक्षमताबारे जानकारी दिएका थिए।

    त्यसपछिका दुई सातामा उनीहरूलाई कामका क्रममा हरेक आधा घण्टा, एक घण्टा वा दुई घण्टामा पाँच मिनेट हिँड्न लगाइयो र त्यसपछि पुनः मूल्याङ्कन गरियो। अध्ययनमा हरेक आधा घण्टामा हिँड्दा मनोभावमा सुधार र थकानमा कमी देखिए पनि काममा केही अवरोध पुगेको पाइयो।

    दुई घण्टामा एकपटक हिँड्नु नहिँड्नुभन्दा राम्रो भए पनि सबैभन्दा प्रभावकारी विकल्प भने हरेक घण्टा पाँच मिनेट हिँड्नु रहेको निष्कर्ष निकालियो। अनुसन्धानकर्ताहरूका अनुसार यसले कार्यक्षमता, एकाग्रता र मानसिक सतर्कतामा उल्लेखनीय सुधार ल्यायो।

    ब्रेकले काम बिगार्दैन, झन् सुधार गर्छ

    किथ डियाजका अनुसार धेरै कर्मचारीलाई बारम्बार उठेर हिँड्दा कार्यालय प्रमुख वा सहकर्मीहरूले कसरी लिने हो भन्ने चिन्ता हुने गर्छ। तर उनले भने, “सुन्दा अनौठो लाग्न सक्छ, तर यस्ता छोटा विश्रामले वास्तवमा कामको गुणस्तर सुधार गर्छन्। यसले ध्यान केन्द्रित गर्ने क्षमता, स्मरणशक्ति र सोच्ने क्षमतामा सकारात्मक प्रभाव पार्छ। मानिसहरू थप ताजगी र आराम महसुस गर्छन्।”

    उनका अनुसार हिँड्नका लागि काम रोक्न आवश्यक पर्दैन। बैठकमा सहभागी हुँदा, फोनमा कुरा गर्दा वा कार्यालयभित्रै पनि छोटो दूरी हिँडेर यो अभ्यास गर्न सकिन्छ।

    स्वास्थ्य विज्ञको प्रतिक्रिया

    ब्रिटिस हार्ट फाउन्डेसनकी वरिष्ठ मुटुरोग विशेषज्ञ नर्स एमिली म्याकग्राथले अध्ययनको प्रशंसा गर्दै शरीरका साना–साना गतिविधिले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने बताइन्। यद्यपि उनले यो अध्ययन छोटो अवधिमा गरिएको र सहभागीहरूको व्यक्तिगत अनुभवमा आधारित भएकाले मुटुसम्बन्धी दीर्घकालीन प्रभाव पुष्टि गर्न थप विस्तृत अनुसन्धान आवश्यक रहने उल्लेख गरिन्।

    हरेक घण्टा पाँच मिनेट हिँड्नु सबैभन्दा प्रभावकारी।
    मनोभाव सुधार हुन्छ।
    थकान कम हुन्छ।
    एकाग्रता र कार्यक्षमता बढ्छ।
    लामो समय बसिरहँदा हुने स्वास्थ्य जोखिम घटाउन मद्दत पुग्न सक्छ।
    कार्यालयको काममा उल्लेखनीय अवरोध पर्दैन।

    विशेषज्ञहरूका अनुसार दिनभर कुर्सीमा बस्ने बानी भएका व्यक्तिका लागि हरेक घण्टा पाँच मिनेटको पैदल हिँडाइ सरल, सस्तो र प्रभावकारी स्वास्थ्य उपाय हुन सक्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ