काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसअघि पनि सुन प्रतितोला ६ सय रुपैयाँले बढेको थियो। लगातारको वृद्धिले सुन बजारमा पुनः उत्साह देखिएको महासंघले जनाएको छ। महासंघका अनुसार पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै गएको र तेलको मूल्यमा उतार–चढाव आउँदा लगानीकर्ताहरू सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित भएका हुन्। यसअघि असोज ३१ गते सुनको भाउले इतिहासकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि असोज ३१ गतेकै दिन रेकर्ड स्तर ३ हजार ३५० रुपैयाँ प्रतितोला पुगेको थियो।
प्रतिक्रिया