काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।
बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।
नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ । यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलोगरी बसेको थियो । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।
सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् ।
तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन् ।
सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।
प्रतिक्रिया