• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा अतिथी

    3.2K
    SHARES



    बुटवल । एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन् ।

    पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् । तर, प्रहरीको नजर परेको छैन । एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ ।

    जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

    पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    तर लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समिति सदस्य एवम् नेकपा एमालेको केन्द्रीय लेखा आयोगका उपाध्यक्ष पन्थीले राजनीतिक पहुँचका कारण उन्मुक्ति पाइरहेका छन् ।

    के हो विवाद ?

    कपिलवस्तु वाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमाले सांसद हुन् । उनले कांग्रेस उम्मेद्वार डोलकराम घिमिरेलाई पराजित गरेका थिए ।

    पन्थी गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौंका सञ्चालक मध्ये एक हुन् । उनीसँगै देवराज खनालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।

    गौतमबुद्ध हाइड्रोपावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको थियो तर तिरेनन् । कारोबार गर्ने क्रममा २०७३ सालमै गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको थियो । सोमध्ये पल्लवी इलेक्ट्रा प्रा.लिलाई ५ लाख रुपैयाँ दिएको थियो ।

    बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

    फैसला कार्यान्वयन नगरेपछि पल्लवी कम्पनीले अदालतमा पुनः निवेदन दिएको थियो । निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गरेको थियो । जसमा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैं आउने सूचना थियो ।

    सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका संचालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश भएको थियो । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ अनुसार उनीहरुलाई कैद सजाय तोकिएको हो । सो दफामा बिगो वा जरिवाना बापत कैद गर्ने प्रावधान छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ