काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बिगत २०७४ सालको स्थानिय तह निर्वाचनका बेलादेखि भूमिगत गतिविधिमा सक्रिय रहेको नेकपा अब औपचारिक रूपमा संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएको छ।
पार्टीका निर्वाचन व्यवस्थापन समिति प्रमुख कर्णजित बुढाथोकी ‘सुशील’का अनुसार पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको छ। उनले भने, “दल दर्ताका लागि आवश्यक पर्ने सबै प्रारम्भिक काम पूरा भइसकेको छ। अब केन्द्रीय समितिको आसन्न बैठकबाट अन्तिम निर्णय लिई प्रक्रिया अघि बढाइनेछ।”
यसै क्रममा, पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार काठमाडौंस्थित निर्वाचन आयोग कार्यालयमा पुगेर आफ्नाे मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। महासचिव विप्लवको नामावली दर्ता दल दर्ता प्रक्रियाको एउटा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। मतदाता नामावलीमा नाम दर्ता गर्न गएका विप्लवका साथमा उनका स्वकीय सचिव तथा पार्टीका केन्द्रीय सदस्य अडिग बोगटी पनि गएका थिए।
नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि आवश्यक सबै कागजातहरू तयारी अवस्थामा रहेको जनाएको छ। पार्टीले छिट्टै आयोगमा औपचारिक आवेदन दिने तयारी गरिरहेको बताइएको छ। पार्टीका नेताहरूका अनुसार, राजनीतिक परिवेश, जनअपेक्षा र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै अब नेकपा संसदीय राजनीतिमा सहभागिता जनाउन चाहन्छ।
ओली नेतृत्वको अघिल्लो सरकारसँग३ बुँदे सहमति गर्दै भूमिगत राजनीति त्यागेको नेकपाले संसदीय प्रणाली भित्रैबाट आफ्नो राजनीतिक एजेण्डा अघि बढाउने सम्पूर्ण तयारी पुरा गरिरहेको छ। विशेषज्ञहरूले उसको यो कदमलाई नेपालको राजनीतिक क्षेत्रमा नयाँ मोडको रूपमा हेरेका छन्। अब यो पार्टीले चुनावी राजनीति कति प्रभावकारी ढंगले सम्हाल्न सक्छ भन्ने चासो बढेको छ।
निर्वाचन आयोगले दल दर्ताका लागि पूर्ण कागजात, केन्द्रीय कार्यसमितिको विवरण, पार्टी विधान, घोषणापत्र लगायतका कागजात माग गर्ने गर्छ। नेकपाले यी सबै प्रक्रिया छिट्टै पूरा गर्ने र निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गर्ने लक्ष्य राखेको छ।
मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि जुन जिल्लामा मतदाता नामावली दर्ता गर्ने हो त्यही जिल्लाको स्थानिय वासिन्दा हुनुपर्छ। यसको मतलब विप्लवले भूमिगत राजनीति गरिरहेकै अवस्थामा काठमाडौँमा घर जग्गा किनिसकेको यसबाट पुष्टि हुन्छ। एकीकृत जनक्रान्तिका नाममा हजारौँ नेता कार्यकर्तालाई झुटा मुद्दा, जेल, हिरासत, तथा २ दर्जन बढी मान्छेको बलिदान भएपनि उनले संसदीय राजनीतिमार्फत आफ्नो अभिष्ट पुरा गर्ने लक्ष्य राखेको कुरा अहिले आएर पुष्टी भएको छ।
प्रतिक्रिया