• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    तोकिएकै समयमा अधिवेशन गर्न तल्लो तहलाई रास्वपाको निर्देशन

    620
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गरेर निर्धारित समयमा अधिवेशन गर्न निर्देशन गरेका छन् ।

    प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक संगठन निर्माण अभियान संचालन र संगठन परिपक्व बनाई अधिवेशन गर्न निर्देशन दिएको बुर्लाकोटीले बताए । यही वैशाखको अन्तिम साता गर्ने गरी पूर्व निर्धारित महाधिवेशनलाई रास्वपाले फागुनमा सारेको छ ।

    तल्लो तहका अधिवेशन निर्धारित मितिमा नसकिएपछि महाधिवेशनको समय सारिएको छ । ७ देखि ९ फागुनसम्म चितवनमा महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको छ ।

    ४ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रदेखि वडा अधिवेशनको नयाँ मिति तोकेको थियो । नयाँ समयतालिका अनुसार असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला, माघमा १५ प्रदेश अधिवेशनको समय तोकिएको छ ।

    ‘आफ्नो जिम्मेवारीमा रहेको तहगत अधिवेशन समयमा नै सम्पन्न गर्न सकिने कार्यतालिका बनाई एक तह माथि बुझाउने व्यवस्था गर्न गराउनु हुन, यो निर्देशन वडा तहसम्म सम्प्रेषण गराउन हुन र २०८२ वैशाख १५ गतेभित्र सबै प्रदेशको तर्फबाट प्रस्तावित तालिका तयार गरी केन्द्रीय संगठन विभागमा पठाउनु हुन निर्देशन गरिन्छ,’ बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

    ७१ जिल्लामा तदर्थ समिति

    रास्वपाले हालसम्म ७१ जिल्लामा पार्टी संगठन विस्तार गरेको छ । मनाङ, मुस्ताङ, डोल्पा र पूर्वी रुकुममा जिल्ला सम्पर्क व्यक्तिले पार्टी प्रतिनिधिको रूपमा कार्य गरिरहेको बुर्लाकोटीले जानकारी गराए ।

    पालिका तहमा ४५८ कार्य समिति क्रियाशील बनेका छन् । बुर्लाकोटीका अनुसार करिव दुई हजार वडा समिति गठन भएको छ । रास्वपाले करिव आठ सय वडाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।

    १८ पालिकामा निर्वाचित समिति

    रास्वपाले २ चैतबाट पालिका अधिवेशन सुरु गरेको थियो । हालसम्म १८ पालिकामा अधिवेशन गरेर निर्वाचित कार्यसमिति गठन भएको छ । कोशीमा प्रदेशमा झापाको बुद्धशान्ति, कन्काइ, गौरादह, शिवसतासी, विर्तामोड, दमकमा अधिवेशन सकिएको छ । कोशीका अन्य जिल्लाका पालिकामा भने अधिवेशन भएको छैन ।

    मधेश प्रदेशमा हालसम्म कुनै पालिकामा पनि अधिवेशन हुन सकेको छैन । बाग्मतीमा काठमाडौं कागेश्वरी मनोहरा, तारकेश्वरमा अधिवेशन भएको छ । साथै, नुवाकोटको विदुर र म्यागङ पालिकामा अधिवेशन गरिएको छ ।

    चितवनमा माडी पालिकाको अधिवशेन सकिएको छ । गण्डकीमा नवलपुर जिल्लाका गैडाकोट र कावासोतीमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । लुिम्बनीमा एक मात्रै पालिकाको अधिवेशन सकिएको छ ।

    रुपन्देहीस्थित कञ्चन गाउँपालिकाको अधिवेशन भएको छ । सुदूरपश्चिममा कञ्चनपुरको पुनर्वास, कृष्णपुर, बेलडाँडी र बेलौरी पालिकाको अधिवेशन सकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ