काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरूलाई निर्मल निवास बोलाएर राजनीतिक बिषयमा छलफल गरेको खुलासा भएको छ ।
नयाँ वर्षको शुभकामना आदानप्रदान भनिए पनि छलफल मूलतः राजनीतिक विषयवस्तुमै केन्द्रित रहेर खुलेर कुराकानी भएको भेटमा सहभागी राप्रपाका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
शाहले आन्दोलनमा हिंसा नहोस् भन्ने उद्देश्यले सत्ता त्यागेको स्मरण गराउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग आन्दोलन शान्तिपूर्ण बनाउन भूमिका नखेलेकोप्रति प्रश्न उठाएका थिए। जवाफमा लिङ्देनले आन्दोलन समिति पूर्वराजाले नै बनाएको सुनेको बताए पनि पूर्वराजाले उक्त समितिबारे अनविज्ञता प्रकट गर्दै दुर्गा प्रसाईंलाई तीनकुने आन्दोलनअघि नभेटेको स्पष्ट पारेका छन्।
पूर्वराजाले जुनसुकै आन्दोलन पनि शान्तिपूर्ण हुनुपर्नेमा जोड समेत दिएका थिए । राप्रपाले आइतबार राजधानीमा प्रदर्शन आयोजना गरेको अवस्थामा पूर्वराजाले प्रहरीलाई ढुंगा नहान्न र गुलाफको फूल दिन समेत सुझाएको बताएको छ ।
‘पुलिसलाई गुलाफको फूल दिनू , प्रहरी आफ्नो दाजुभाइ हो । मान्छे मारेर आएको व्यवस्था कहिले पनि ठिक हुँदैन’, उनको भनाइ थियो ।
यसैबीच, पूर्वराजाको नेतृत्वमा गठन गरिएको आन्दोलन समितिबाट राप्रपा अध्यक्ष लिङ्देन, कमल थापा, केशर बहादुर विष्ट लगायतका नेताहरूले आफूलाई अलग गरेका छन्। उनीहरूले पूर्वराजासँग पूर्वसहमति बिना समितिमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजालाई प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न नहुन सुझाव दिएका छन्।
पूर्वराजाले देशमा बढ्दो गरिबी, बेरोजगारी, र धर्म-संस्कृतिको क्षयप्रति चिन्ता व्यक्त गर्दै राप्रपा अध्यक्ष लिङ्देनलाई वर्तमान अवस्थामा मुलुक कसरी अघि बढ्छ भन्ने प्रश्न गरेका थिए। जवाफमा लिङ्देनले राजसंस्थाको एजेण्डामा अडिग रहेको बताएका छन्।
स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए ।
प्रतिक्रिया